बौद्धधर्म दर्शनको विकासबारे विभिन्न मत

प्रकाशित मिति:

डा.बालकृष्ण चापागाईं- बौद्ध विद्वान् नलिनाक्ष दत्त र कृष्ण दत्त वाजपेयीद्वारा लिखित ‘उत्तर प्रदेश मे बौद्ध धर्मका विकास’ नामक पुस्तकमा बुद्धकालीन समाजको अवस्था र बुद्धले ज्ञान प्राप्त गरिसकेपछि बुद्धद्वारा दिएका उपदेशहरूले समाजमा पारेको प्रभावका बारेमा प्रमाणित तथ्यहरू प्रस्तुत गरिएको छ । पुस्तकमा उल्लेख भएअनुसार प्रारम्भमा बौद्ध धर्मको विकास विहारमा भयो । त्यसपछि शैशवदेखि प्रौढतासम्म यसको समग्र विकास कोशल (अवध) मा भयो । मज्झिमनिकाय अनुसार पुक्कुसाति (पुष्कर सारि÷फो–किया–लो) तक्षशिला (गंधार) का राजा थिए र उनी बिम्बिसारका समकालीन थिए । गंधार र मगधका बीच व्यापार गर्ने केही व्यापारीहरूको प्रयासद्वारा यी दुई राजाहरूमा मित्रता भयो । पुक्कुसातिले एक पटक बिम्बिसारका लागि केही बहुमूल्य उपहार पठाए र प्रत्युत्तरमा बिम्बिसारले उनीकहाँ बुद्धका चुनिएका उपदेशहरू खोपिएको एक स्वर्ण–पत्र पठाए । तिनलाई पढेर पुक्कुसातिले सन्यास ग्रहण गर्ने निश्चय गरे । उनले पहेंलो वस्त्र धारण गरी सम्पूर्ण मार्ग पैदल हिंडेरै बुद्धसँग भेट गर्न राजगृह पुगे । त्यस समय बुद्ध श्रावस्तीमा बसेका थिए । ती राजासंगको भेटमा बुद्धले धातुविभंग सुत्तको उपदेश दिएका थिए । त्यसपछि उनी आजीवन बुद्धको अनुयायी बनी बौद्ध धर्मदर्शनको प्रचार प्रसारमा लागे । यसबाट गौतम बुद्धको जीवनकालमा उनका उपदेशहरू स्वर्णपत्रहरूमा खोपेर पठाउने खालको सञ्चारको अवस्था रहेको बोध हुन्छ । बुद्धका वचनका सञ्चारले तत्कालीन समाजका सर्वसाधारण व्यक्तिहरू मात्र होइन राजपरिवार र उच्च सामाजिक जीवनका व्यक्तित्वहरूसमेत् प्रभावित भएको पाइन्छ

राहुल सांकृत्यायनले बौद्धधर्म–दर्शनका बारेमा धेरै अनुसन्धानमूलक कृति लेखेका छन् । ती मध्ये ‘दर्शन दिग्दर्शन’ एक हो । यस पुस्तकमा गौतम बुद्धको जन्म ५६३ ई.पू.का आसपासमा भएको, उनका पिता शुद्धोदन शाक्यहरूका राजा भएको, मज्झिम निकाय अट्ठकथा अनुसार दण्डपाणि कोलीयलाई पनि शाक्यहरूको राजा भनिएको, शाक्यहरूका दुईटा राज्य भएका त्यसमध्ये एउटा कपिलवस्तु र अर्को देवदह भनी उल्लेख गरिएको छ । यस पुस्तकमा सिद्धार्थले बुद्धत्व प्राप्त गरिसकेपछि साठी शिष्यहरूलाई सारनाथमा धर्मको प्रथम उपदेश गरे । भिक्षुहरू ! बहुजनको हितका लागि, बहुजनको सुखका लागि, लोकमाथि दया गर्नका लागि, देव–मनुष्यहरूको प्रयोजन–हित–सुखका लागि विचरण गर । एकसाथ दुई जना नजाऊ । म पनि उरुवेला सेनानी ग्राममा धर्म उपदेशका लागि जाँदैछु भनी मज्झिम निकायको ओपम्म वग्गको महासारोपम सुत्तमा भनेको कुरा उल्लेख छ ।पुस्तकका लेखक सांकृत्यायनले मज्झिम निकायलाई आधार मान्दै श्रावस्ती, वैशाली, कपिलवस्तु, सुंसुमारगिरि, गोसिङ्ग शालवन, अङ्ग, अस्सपुृर, वेरञ्जा, चम्पा, अट्ठक, कोलिय, कोसल, राजगृह, चातुमा, कीटागिरि, नलकपान, सूकरखतलेन, कुरु देशको कम्मासदम्म, कोसम्बी, मिथिला, देवदह, कुशीनारा, पावा, लिच्छवि, राजगृहको ऋषिगिलि, कोसम्बी, पुक्कुसाति, महाप्रजापति र नगरविन्द जस्ता देश, ग्राम, नगर, वस्ती र राजाहरूको चर्चा गर्दै त्यतिबेला विस्तार र प्रभावका दृष्टिले कोसल राज्य त्यस समयको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरेका छन् । वैशालीका लिच्छवि र मगध राज अजातशुत्र यसका छिमेकी प्रतिद्वन्दी थिए । कोसलको पूर्वमा शाक्य (मेतलूप, रामगाम, कपिलवस्तु), कोलीय (देवदह) र मल्लहरू (कुसीनारा, पावा, अनूपिया) भएको चर्चा गरिएको छ ।
त्यस्तैगरी कोसलराज प्रसेनजित र वत्सराज उदयनझैं मगधराज बिम्बिसार पनि बुद्धका समवयस्क भएका, अंगुत्तराप (भागलपुर मुंगेर जिल्लाको गंगादेखि उत्तरीय भाग) बिम्बिसारका अधीनमा रहेको, पूर्व र दक्षिणका सीमामा यसभन्दा प्रभावशाली राज्य कुनै नभएको, अजातशत्रुका शासनकालमा मगधमा तीन प्रतिद्वन्दी शक्तिहरू भएको भनी उल्लेख हुनुले तत्कालीन समाजको अवस्था के थियो र ती स्थानमा त्यतिबेला बौद्ध धर्मदर्शनको प्रभाव उच्चघरानामा कसरी पर्दै थियो ? भन्ने कुराको संकेत मिल्छ ।

नायनातिलोकाद्वारा लेखिएको द वर्ड अफ द बुद्ध नामक पुस्तकमा गौतम बुद्धका चार आर्य सत्य र अष्टाङ्ग मार्ग नै प्रमुख दार्शनिक आधारका रूपमा विवेचना गरिएको छ । ती विचारलाई आम जनसमुदायका बीच पु¥याउनमा बुद्धका ज्ञान, धर्म र संघको विशेष स्थान रहेको चर्चा गरिएको छ । बुद्धका हरेक वाणी र शब्दमा सत्यता, मानव कल्याण, मैत्री, करुणा र शान्ति मुखरित हुने गरेको बारे विवेचना गरिएको छ । बोधि वृक्ष मुनि बुद्धत्व प्राप्तिपछि आफ्नो जीवनको अन्तिम विन्दु ८० वर्ष सम्म अथक र अखण्ड प्रवचन र प्रशिक्षणमै गौतमबुद्धको जीवन व्यतीत भएको चर्चा गरिएको छ । गौतम बुद्धले कुशल कर्ममा जोड दिदै झुटो नबोल्नु, कर्कश भाषा ननिकाल्नु, महत्वहीन र गम्भिरता नभएको निरर्थक कुरा नगर्नु भनेको बारे चर्चा गरिएको छ । प्रस्तुत पुस्तकमा कसैबाट सुनेको वा अरे–अरेको कुरा नदोहोराउनु भनि बुद्धले भनेको सन्दर्भलाई जोड्दै गौतमबुद्धका सम्पूर्ण साधना, शील, त्यागको बारेमा चर्चा गरिएको छ । यसका साथै बुद्ध अहंकार शून्य र बुद्धत्वयुक्त व्यक्तित्व भिक्षाटनमा विभिन्न ठाँउमा यात्रा गर्दा र मान्छेसँग बोल्दा स्वभावले एउटा नयाँ मोडेलको प्रभाव समाजमा परेकोे बारे चर्चा गरिएको छ । बुद्धले प्रभावकारी मौखिक सञ्चारका माध्यमबाट धर्म, संघ र समूहका बीचमा आफ्ना विचारलाई पु¥याउन सकेकाले यसको प्रभाव विस्तारमा योगदान पुगेको चर्चा गरिएको छ । मानिसले शान्ति आफै भित्र खोज्नु पर्ने कुरामा बुद्धले जोड दिएको चर्चा गर्दै अष्टाङ्ग मार्गको अभ्यास र पञ्चशीलको व्यावहारिक कार्यान्वयन गर्न सकेमा मानव समाजमा शान्ति स्थापना हुनेमा गौतम बुद्धको विचार रहेको पाइन्छ । यस पुस्तकको अध्ययन गर्दा तत्कालीन समाजमा बुद्धका विचारको सम्प्रेषणमा सञ्चार कलाको उपयोग भएको पाइन्छ ।
त्यस्तैगरी ‘बुद्धकालीन राजपरिवार (भाग–१)’ नामक पुस्तकमा भिक्षु अमृतानन्दले बुद्धकालीन राजपरिवारहरूका बारेमा खोज अनुसन्धान गरेका छन् । यस पुस्तकमा कपिलवस्तुका शाक्य वंशीय राजा शुद्धोदन र उनका छोरा सिद्धार्थको सम्बन्धजस्ता विषयहरूको खोजमूलक चर्चा गरिएको छ । बुद्धकालीन राजाहरूको चर्चा गर्ने क्रममा यसमा बिम्बिसार, शुद्धोदन, प्रसेनजित, कोशल, महालि लिच्छवि, महानाम लिच्छवि, औट्ठद्ध लिच्छवि, उदेन, कौरव्य, दण्डपाणि र माधुर लगायतका राजा एवं राजपरिवारको बारेमा पनि चर्चा गरिएको छ । उनीहरूको गौतमबुद्धसँगको सम्बन्ध र सहकार्य आदि विषयमा समेत सविस्तार उल्लेख गरिएको छ । जरामरणका विषयमा बुद्धले राजा प्रसेनजितलाई उपदेशका क्रममा भनेका छन् ः –
जीरन्ति वे राजरथा सुचिता
अथो शरीरं पि जरं उपेति ।
सतं च धम्मो न जरं उपेति ।
सन्तो हवे सब्भि पवेदयन्ती ‘ति’
अर्थात् विचित्र रूपले सजाइ राखिएको राजरथ पनि जरा जीर्ण हुन्छ , यो शरीर पनि जरा जीर्ण हुन्छ, तर सद्धर्म (निर्वाण) मात्र जरा जीर्ण हुन्न भनी सन्त सत्पुरुषहरू भन्दछन् । बुुद्ध र प्रसेनजितका बीच अन्तरसंवादका क्रममा बुद्धले प्रसेनजितलाई भन्ने र प्रसेनजितले सुन्ने काम भएकोले यसमा अन्तर्वैयक्तिक सञ्चारको प्रयोग भएको छ ।यस पुस्तकमा बुद्धकालीन समाजको सामाजिक संरचना, राज्यसंचालनको विविध अवस्था, राज्य र जनताका बीचको सूचना आदान–प्रदान बारे चर्चा छ । यस पुस्तकले बुद्धकालीन समाज कुन रूपमा चलेको थियो ? त्यतिबेला सञ्चार कसरी हुन्थ्यो ? जस्ता कुराहरू बुझ्न सजिलो बनाएको छ । यस पुस्तकमा तत्कालीन अवस्थामा सूचना, समाचार र विचार कसरी संचारित हुन्थ्यो भन्ने विषयको जानकारी प्राप्त हुने भएकोले अनुसन्धानका निम्ति यो पुस्तक महत्वपूर्ण छ ।त्यस्तैगरी भिक्षु अमृतानन्दको ‘बुद्धकालीन परिव्राजकहरू (भाग–१)’ नामक पुस्तकमा गौतमबुद्ध विभिन्न निवासमा सुकुलदायी जस्ता प्रसिद्ध परिव्राजकहरूसंग बस्ने गरेको र तिनीहरूलाई बुद्धले अल्पाहारी हुनु, चीवरबाट सन्तुष्ट रहनु, पिण्डपात ( खीर )बाट सन्तुष्ट रहनु, सामान्य शयनासनमा सन्तुष्ट रहनु र एकान्तवासी हुनुजस्ता उपदेशहरू दिएको चर्चा छ । साथै यसमा सुन्दर ज्ञानदर्शन, उत्तम प्रज्ञास्कन्ध, चार आर्यसत्य र आर्य अष्टांगिक मार्गको पनि व्याख्या छ ।

प्रस्तुत पुस्तक अनुसार गौतम बुद्धले समतावादी दृष्टिकोण प्रस्तुत गर्दा तत्कालीन सामाजिक अवस्थामा निकै हलचलको स्थिति उत्पन्न भएको थियो । बुद्धले सर्वसाधारणले बुझ्ने गरी विभिन्न उदाहरणहरू प्रस्तुत गर्दै मागधी, पालिलगायतका स्थानीय भाषामा उपदेश दिन्थे । उनका उपदेश राजादेखि रङ्कसम्मले सहज ढंगले बुझ्दथे । जनमानसलाई बुझाउने उनको विशिष्ट शैली थियो जसले गर्दा एकाएक जनमानसमा बुद्धका विचारहरूको प्रभाव प¥यो । यसै सन्दर्भलाई जोड्दै भिक्षु अमृतानन्द लेख्छन् ‘भगवान बुद्ध सोही स्थलमा बस्दा एकदिन एक ठूलो परिषद्का साथ वास गर्ने सुकुलदायीको परिव्राजाकाराममा गए । बुद्धले उपदेश दिंदै– ‘यसो हुँदा उत्पत्ति हुन्छ यसो नहुँदा वा निरुद्ध हुँदा यो निरुद्ध हुन्छ’ भनेको कुराले उदायी परिव्राजकलाई निकै प्रभावित ग¥यो र बुद्धका विचारलाई निरन्तर प्रचार–प्रसार गर्नमा उनीहरू सक्रिय रहे । गौतमबुद्धले उपदेश कै क्रममा वर्णभेद र जातिभेद जस्ता समाजलाई विभाजित गर्ने गलत चिन्तनको खण्डन गर्दै मानवतावादी दृष्टिकोण प्रस्तुत हुँदा परिव्राजकहरू झनै उत्साहित भएका थिए । बुद्धले सुखमय लोकको मार्ग बताए । यसले गर्दा बुद्धका विचार लोकप्रिय हुँदै आएको पाइन्छ । बुद्धले जहाँ–जहाँ पुगेर प्रवचन दिए त्यहाँ–त्यहाँ उनका समर्थक र अनुयायीहरू बढेका थिए । त्यसले गर्दा बुद्धकालमै उनका विचारले निकै प्रभाव पारेको पाइन्छ । यसबाट मौखिक सञ्चारमा गौतम बुद्ध अत्यन्तै कौशल थिए भन्ने स्पष्ट हुन्छ । भवतु सब्ब मंगलम् ।