तिलोत्तमा, माघ १८ । नेपाल शिक्षक महासंघ तिलोत्तमाले शिक्षकहरुलाई मासिक रुपमा तलव भुक्तानी गर्न माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्थानीय तहलाई गरेको परिपत्र बमोजिम तिलोत्तमा नगरपालिकाले पनि शिक्षकहरुलाई मासिक रुपमा तलव उपलब्ध गराउनुपर्ने महासंघको माग रहेको छ । आज बसेको महासंघको बैठकले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखालाई मासिक तलव भुक्तानीका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले नेपाल शिक्षक महासंघ केन्द्रीय समतिद्वारा घोषित आन्दोलन कार्यक्रम सञ्चालन गर्नका लागि नगर अध्यक्ष मृगेन्द्र रिजालको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिको सह संयोजकमा गंगा पाण्डे महत, सचिव शंकरदत्त उपाध्याय, कोषाध्यक्ष सुनिल कुमार गुप्ता, सदस्यहरु प्रचण्ड जि.सी., नरेन्द्र बहादुर गुरुङ, डोलराज पाण्डे, डिल्लीराज पाण्डे, सुदर्शन आचार्य, झंकनाथ गैरे, विकास शर्मा, गीता शर्मा र रामनारायण चौधरी रहनु भएको छ । समितिले केन्द्रीय निर्देशन अनुसारका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने महासंघले जनाएको छ ।