स्मार्ट सिटीका रूपमा विकास हुदै बुटवल

प्रकाशित मिति:

सबलपोष्ट डेक्स , बुटवल — देशभरका ७ सय ५३ स्थानीय तहले संघीयताको दोस्रो कार्यकालमा स्थानीय विकास, कानुन निर्माण र संघीयताको अभ्यास गर्दै गर्दा मध्य नेपालको महत्वपूर्ण उपमहानगर बुटवलले उल्लेखनीय प्रगति र समृद्धिको यात्रा तय गरिरहेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित मेयर खेलराज पाण्डेयको नेतृत्वमा बुटवल उपमहानगरपालिकाले स्मार्ट सिटीको रूपान्तरणका लागि पूर्वाधारदेखि मानव संसाधन विकाससम्म समग्र र योजनाबद्ध काम गर्दै आएको छ । बुटवल, जुन पहिला खस्यौली, बटौली नामले परिचित थियो । यस्तै जितगढी किल्लामा दुई सय वर्षअघिदेखि नेपालले अंग्रेजलाई हराएको गौरवशाली इतिहास बोकेको छ । सेनवंशीय राजाहरूले शीतकालीन राजधानीका रूपमा यो रोजे भने नुन, कपडा लगायतका वस्तुको व्यापारसँग जोडिएको महेन्द्र र सिद्धार्थ राजमार्गको विस्तारपछि बुटवलले आधुनिक रूप लिएको हो । स्थानीय सरकारको रूपमा संघीयताको अभ्यास शुरू भई अहिलेसम्म आईपुग्ने क्रममा बुटवलले धेरै चुनौती सामना ग¥यो । पहिलो कार्यकालमा शुरु भएका अभ्यासहरू दोस्रो कार्यकालसम्म आइपुग्दा नयाँ स्थिति र चुनौतीमा परिणत भएका थिए । ‘पहिलो वर्ष सिक्न सिक्दै योजना अगाडि बढायौं, दोश्रो वर्षमा कार्यान्वयनको चरणमा पुर्यायौं र अहिले केही ठूला नतिजा देखिन थालेका छन् मेयर पाण्डेयले भन्नु भयो । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकता दिंदै सुशासनका लागि समर्पित नीति र कार्यक्रम अगाडि बढाएको छ । ‘हामीले घरदैलो सेवा सुरु गरेका छौं — बाआमासँग नगरप्रमुख कार्यक्रम अन्तर्गत ६० वर्ष माथिका वृद्धवृद्धाको स्वास्थ्य जाँच र औषधी वितरण, अपाङ्गता परिचय पत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य सेवा, पशुचौपायाको स्वास्थ्य परीक्षण लगायत सेवा घरमै पु¥याइरहेका छौं प्रमुख पाण्डेयले भन्नु भयो । स्वरोजगार र आत्मनिर्भरता सुनिश्चित गर्न महिला, युवालाई लक्षित गर्दै कफी बनाउने, सिलाई, प्लम्बिङ, वायरिङ, सुनचाँदीका गहना बनाउने, टपरी र चुरापोते बनाउन तालिम दिइएको छ । महिलाहरु उद्यमशीलतामा जोडिएका छन् । बुटवलले भौतिक पूर्वाधारमा पनि धेरै उपलब्धि हासिल गरेको छ । राष्ट्रियस्तरका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, व्यवस्थित अटो भिलेज, खेल मैदान, लुम्बिनी प्रादेशिक अस्पताल र आम्दा अस्पतालका नयाँ भवनहरू निर्माणाधीन छन् । पशु बधशाला सञ्चालनमा आइसकेको छ भने पार्किङ समस्या समाधानका लागि पार्किङ भवन निर्माणमा काम भइरहेको छ ।

महत्वपूर्ण यातायात संरचना ६ लेन सडक विस्तार र स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ — बुटवल–नारायणघाट, बुटवल–चन्द्रौटा सडक विस्तारको काम अन्तिम चरणमा छ। उपमहानगरपालिकाका धेरै भित्री सडकहरू पक्की र फराकिला बनेका छन्। प्रदेशस्तरको हरियाली बसपार्क निर्माणको योजना अघि बढिरहेको छ भने अत्याधुनिक फोहोर प्रशोधन केन्द्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा छ । २२ वर्षअघि सुरु गरिएको झुम्सा खानेपानी आयोजना पनि छिट्टै सम्पन्न हुने क्रममा छ । छाडा चौपायाको समस्या समाधानका लागि गौचरण सहितको गौशाला सञ्चालनमा आएको छ । बुटवलको शिक्षा क्षेत्रमा कालिका, नवीन औद्योगिक, कान्ति मावि लगायत सार्वजनिक विद्यालयहरू देशमै उत्कृष्ट मानिन्छन्। विद्यार्थीहरूले भर्ना पाउन धेरै पटक पालो कुर्नुपर्दो अवस्था छ । निजी क्षेत्रका विद्यालयहरूले पनि उत्कृष्ट शिक्षा प्रदान गर्दै आएका छन् । स्वास्थ्य क्षेत्रमा टोलटोलमा प्राथमिक उपचार, पोषण, सुरक्षित मातृत्व, जेष्ठ नागरिक र किशोरकिशोरी लक्षित कार्यक्रमहरू सञ्चालनमा छन् । ६० वर्षमाथि वृद्धवृद्धालाई घरमै स्वास्थ्य जाँच र औषधी उपलब्ध गराउने कार्यक्रम जारी छ । गर्भवती महिलाहरूलाई निशुल्क जाँच र औषधी वितरण गर्दै आइरहेको छ । शिशु पोषणका लागि सरकारी अस्पतालहरूले २ हजार रुपैयाँ र एचआइभी संक्रमित बालबालिकालाई मासिक ३ हजार रुपैयाँ पोषण खर्च उपलब्ध गराउँछन्।

बुटवलमा कृषियोग्य जमीन लगातार घट्दै गएपछि नगरले कृषिलाई प्रोत्साहन गर्दै कृषकलाई बिउ, उपकरण र अनुदान उपलब्ध गराइरहेको छ । दुग्ध उत्पादन वृद्धि गर्न भैसीको पाडी खरिदमा अनुदान दिइएको छ । कौशी खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि सञ्चालनमा छ । पर्यटन क्षेत्रलाई सक्रिय बनाउन बुद्ध जन्मस्थल लुम्बिनीदेखि जितगढी किल्ला, मणिमुकुन्द सेनको दरबार, रामापिथेकस अवशेष स्थल र मुक्तिनाथसम्म जोड्ने पर्यटकीय मार्ग विकास गरिएको छ । हाईमास्ट लाइट जडान गरी उज्यालो बुटवल अभियान सुरु गरिएको छ । बुटवल–बसन्तपुर र नुवाकोट जोड्ने केवलकार सञ्चालनमा आइसकेको छ । रात्रीकालीन बजार सञ्चालन गरेर स्थानीय व्यवसायीलाई सहयोग गरिँदैछ । कालिकापथ, ट्राफिकचोक, अमरपथमा रात्रीकालीन बजारका लागि पहल भइरहेको छ । ज्योतिनगर र लक्ष्मीनगरको पहिरो र तिनाउ नदीको कटान रोक्न लगातार संरक्षण र तटबन्धको काम भइरहेको छ । बुटवलले इतिहास, भूगोल, व्यापारिक साइनो र सांस्कृतिक विविधतामा समृद्ध भएर देशकै मध्यभागमा आधुनिक, समावेशी र स्मार्ट सिटीको रूप लिन थालेको छ । मेयर खेलराज पाण्डेयले भन्नु भयो “बुटवल अब महानगरपालिकाको रूपमा उभिन तयार छ र हामी सबै पक्षको सहकार्यमा आम नागरिकका लागि सुशासन र समृद्धिको नयाँ युग सुरु गर्ने छौं। स्मार्ट सिटीका सपना साकार पार्न बुटवलले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, रोजगारी र शहरी व्यवस्थापनलाई समन्वयित रूपमा अघि बढाइरहेको छ र भविष्यमा पनि यो यात्रालाई अझ द्रुत बनाउन सबै तहका सरोकारवालासँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ।