सीप, स्वरोजगार र आत्मनिर्भरतातर्फ बुटवलको ऐतिहासिक यात्रा

प्रकाशित मिति:

सबलडेक्स – रुपन्देहीको बुटवल उपमहानगरपालिका स्वरोजगार, सीप विकास र आत्मनिर्भरता प्रवद्र्धनका दृष्टिले उल्लेखनीय पहलकदमीमा अग्रसर देखिएको छ । नगरवासीलाई सीपसँग जोडेर रोजगारीका अवसरहरू सिर्जना गर्ने र त्यसकै माध्यमबाट स्थानीय उत्पादन र आयआर्जनमा वृद्धि गराउने उद्देश्यले नगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनसँगै अब सीप र स्वरोजगारलाई समेत प्राथमिकतामा राखिएको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिका अब औपचारिक कार्यक्रमहरूभन्दा पनि जनशक्ति आवश्यकता पहिचान गरेर व्यावसायिक सीप तालिमतर्फ अघि बढिरहेको बताउनु भयो । उहांका अनुसार, सुनचाँदी गहना बनाउने, सिलाईकटाई, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, मोबाईल मर्मत, टायल मार्बल, एसी र फ्रिज मर्मतदेखि ड्रोन उडाउनेसम्मका तालिमहरू संचालन गरिएको छ ।

सुनचाँदी उद्योगमा देखिएको विदेशी कामदार निर्भरता न्यूनीकरणका लागि सुनचाँदी गहना बनाउने तालिम शुरु गरिएको हो। यसले नेपाली युवामा स्वदेशमै सीप सिकेर आयआर्जन गर्ने चेतना वृद्धि गराएको बताइएको छ। यसैगरी, टायल मार्बल तालिम लिएकाहरूको अनुभव अनुसार तालिमपश्चात काम पाउन सहज भएको छ ।बारिष्टा तालिम पनि युवाहरुमा लोकप्रिय बन्न थालेको छ । गृहिणी महिलाका लागि सञ्चालन गरिएको कार्यक्रमले पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। चुरा बनाउने, गुन्द्रुक प्याकेजिङ, दुना टपरी बनाउने, सिलाईकटाईजस्ता तालिम दिइएको छ । त्यस्तै, परम्परागत सांगीतिक बाजा पञ्चेबाजामा पनि महिला सहभागिता बढाउन तालिम प्रदान गरिएको छ । तालिमपश्चात महिलाहरूले छुट्टै प्रशिक्षक राखेर थप दक्षता हासिल गरेका छन् र अहिले विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा बजाउँदै जीविकोपार्जन गरिरहेका छन्।

श्रमाधान रोजगार मेलाबाट समेत प्रत्यक्षरुपमा युवाहरूले रोजगारी पाउने अवसर पाएका छन्। जेठ २३–२४ गते आयोजना गरिएको श्रमाधान मेला मार्फत ७ सय युवाले प्रत्यक्षरुपमा रोजगारी पाएका थिए। उक्त मेला स्थानीय उद्योग, होटल, निर्माण र सेवा क्षेत्रका कम्पनीहरूलाई युवा शक्तिसँग जोड्ने सेतु बनेको थियो।उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८२÷८३ मा सीप र रोजगार क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। बजेट वक्तव्य अनुसार कलेजमा अध्ययनरत विद्यार्थीलाई ट्राफिक व्यवस्थापनमा खटाउने, गृहिणी महिलालाई स्वरोजगारसँग जोड्ने, उद्यमी महिलालाई प्रोत्साहन गर्ने र दलित समुदायको परम्परागत सीप प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछ। सीप केन्द्र स्थापना गर्न ८५ लाख, गृहिणी रोजगारीका लागि ३ करोड, उद्यमी महिलाका लागि ७० लाख बजेट विनियोजन गरिएको छ उपमहानगरपालिकाले पढाइसँगै युवामा सीप विकास गर्ने कार्यक्रम सञ्चालन गर्दैछ। यसले पढ्ने र कमाउने संस्कृति विकास गर्न सहयोग पु¥याउने बताइएको छ। बुटवल उपमहानगरपालिका अहिले व्यापारिक केन्द्र मात्रै नभई, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, सीप र रोजगारको गन्तव्यको रूपमा स्थापित हुँदैछ। स्थानीय सरकारको नेतृत्वमा शुरु गरिएका यी कार्यक्रमहरूले युवा पलायन घटाउने, रोजगारी सिर्जना गर्ने र स्थानीय उत्पादन बढाउने दिशामा महत्वपूर्ण भूमिका खेलेका छन्। यसरी बुटवलले स्वरोजगार र आत्मनिर्भरताको नँया अध्यायको थालनी गरेको स्पष्ट देखिन्छ।

थप समाचार