
बुटवल उपमहानगरको स्वास्थ्य सेवामा गुणात्मक फड्को – सवै वडामा जेष्ठ नागरिकदेखि शिशुसम्म स्वास्थ्यमा सवैको पहुँच
सबलडेक्स । संविधानको मौलिक हकअनुसार स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउने उद्देश्यसहित बुटवल उपमहानगरपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्को मारेको छ। “स्वस्थ बुटवल, समृद्ध बुटवल“ भन्ने नारासहित अगाडि बढेको नगरपालिकाले स्वास्थ्य सेवा विस्तारमा नगरका सबै १९ वडामध्ये १८ वडामा स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने वडा नम्बर ९ मा भवन अभावका कारण छिट्टै आवश्यक संरचना निर्माण गरी सेवा सुरु गरिने तयारीमा रहेको जनाएको छ।
वडास्तरीय स्वास्थ्य सेवाः संरचना र सेवा विस्तार- बुटवल उपमहानगरले सवै वटा वडामा स्वास्थ्य केन्द्र र केहीमा ल्याबसहितको स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । केहीमा अक्सिजनसहितको सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ भने फिजियोथेरापी सेवाको पूर्वाधार पनि तयार पारिँदैछ । केही वडामा विशेष ल्याब सेवा, केहीमा सुरक्षित गर्भपतन सेवा, र धेरैजसो वडामा ल्याब सेवा विस्तारले स्थानीयवासीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन्।
जनशक्ति र कार्यक्षमताः करिब ६१ जना स्वास्थ्यकर्मी सक्रिय- विभिन्न केन्द्रमा नर्स, पारामेडिक, ल्याब टेक्निसियन, आयुर्वेदिक चिकित्सकसहित करिब ६१ जना स्वास्थ्यकर्मी कार्यरत छन्। दैनिक सेवा प्रवाह हुने यी केन्द्रहरूमा बालबालिका, महिला, जेष्ठ नागरिक, दीर्घरोगी र गर्भवती महिलाहरूले नियमित जाँच, परामर्श, औषधि तथा प्रयोगशाला सेवा निःशुल्क रुपमा प्राप्त गर्दै आएका छन्।
जटिल रोगमा उपचार सहायता – मानवतावादी कार्यक्रम- बुटवल उपमहानगरपालिकाले आठ प्रकारका जटिल रोगहरू — मुटुरोग, मृगौलारोग, क्यान्सर, स्पाइन इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन र अल्जाइमर — भएका बिरामीलाई रु. १७,००० आर्थिक सहायता प्रदान गर्दै आएको छ। विपन्न र दीर्घ रोगी नागरिकलाई सिफारिसका आधारमा सहायता दिइने गरिएको छ। साथै एचआईभी संक्रमित १८ वर्षमुनिका बालबालिकालाई मासिक रु. ३,००० पोषण भत्ता प्रदान गरिँदै आएको छ स्वाथ्य शाखा प्रमुख युवराज पाण्डेयले जानकारी दिनुभयो ।
मातृ–शिशु पोषण र संस्थागत प्रसूति प्रोत्साहन- मातृ मृत्युदर घटाउन र संस्थागत प्रसूति सेवा प्रोत्साहन गर्न “नगरप्रमुख स्वस्थ शिशु पोषण कार्यक्रम“ सञ्चालनमा ल्याइएको छ। यो कार्यक्रम अन्तर्गत सुत्केरी आमाहरूलाई रु. २,००० वडास्तरमै अनुदान दिइन्छ। निःशुल्क युएसजी सेवा, गर्भावस्थामा आवश्यक रगत उपलब्धता तथा स्तन र पाठेघर क्यान्सर परीक्षण कार्यक्रमसमेत सञ्चालन भइरहेको छ। नगरलाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा गरिसकिएको छ।
महामारीमा प्रभावकारी हस्तक्षेपः द्रुत प्रतिकार्य टोली- कोरोना र डेंगु महामारीपछि नगरले स्वास्थ्य आपतकालीन व्यवस्थापनका लागि ‘द्रुत प्रतिकार्य टोली’ गठन गरेको छ । स्वास्थ्य शाखा प्रमुखको नेतृत्वमा रहेको टोलीले डेंगु नियन्त्रणका लागि प्रत्येक वर्ष अभियान सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्षमा ३०० भन्दा बढी टोलस्तरीय प्रतिनिधिसँग सहकार्य गर्दै डेंगु निवारणका लागि विशेष अभियान सञ्चालन हुने जनाइएको छ।
क्षयरोगमुक्त पालिका अभियानः टोलस्तरसम्म पोषण र परिक्षण सेवा- क्षयरोग अन्त्य नेपाल २०५०“ राष्ट्रिय अभियानलाई साथ दिँदै बुटवल उपमहानगरले क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित टोलस्तरसम्म पोषण सामग्री वितरण, नियमित निगरानी र जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।
‘बा–आमासँग नगरप्रमुख’ वृद्धमैत्री नविनतम कार्यक्रम – नगरको मानवमुखी सेवाको अर्को उदाहरण हो — “बा–आमासँग नगरप्रमुख“ कार्यक्रम । यो अभियानमार्फत सवै वडाका घरदैलोमै पुगेर करिब २,६०० जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।
स्वास्थ्य सेवाको नियमन र दर्ता प्रणाली- स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार बुटवल उपमहानगरपालिकाले २०८० सालमा स्वास्थ्य संस्था स्तरोन्नति तथा दर्ता नवीकरणसम्बन्धी निर्देशिका जारी गरी करिब ६० वटा संस्थालाई मापदण्ड अनुरूप सेवा सञ्चालन गर्न प्रमाणपत्र वितरण गरेको छ । मापदण्ड विपरीत सञ्चालित क्लिनिक तथा अस्पताललाई कारबाही प्रक्रिया पनि अघि बढाइएको छ।
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको लागि २ अर्ब ३६ करोडको बजेट ल्याएकोमा स्वास्थ्य क्षेत्रमा प्रयाप्त वजेट विनियोजन गरिएको छ । अस्पताल स्तरउन्नति, ल्याब तथा उपकरण खरिद, स्वास्थ्य भवन निर्माण, एम्बुलेन्स सेवा, स्वास्थ्यकर्मी तालिम, निःशुल्क रगत सेवा, तथा पोषण कार्यक्रमलगायत योजनाहरू समावेश छन्। नगरप्रमुख खेलराज पाण्डेयका अनुसार, “बुटवललाई शिक्षा, स्वास्थ्य र सीप–रोजगारीको समन्वयबाट समृद्ध शहर बनाउने लक्ष्य लिइएको छ, जसमा नागरिकको सहभागिता अत्यावश्यक छ। नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा, समान पहुँच, आकस्मिक सेवाबाट वञ्चित नगरिने लगायतका व्यवस्थाहरू कार्यान्वयन गर्ने सन्दर्भमा बुटवल उपमहानगरपालिकाले स्थानीय तहबाट ठोस काम गर्दै आएको छ। संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा नागरिकमूखी सेवा विस्तार गरिँदा बुटवल उपमहानगर मोडल नगरको रूपमा स्थापित हुँदै गएको छ।