गल्याङ जेसीजलाई नेपाल जेसीजद्वारा ‘गोल्ड अवार्ड’ नेतृत्व र व्यक्तितब विकास सँगै सामाजिक सेवामा समर्पित उदाहरणीय संस्था”
गल्याङ, स्याङ्जा — सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको गल्याङ जेसीजले नेपाल जेसीजबाट ‘गोल्ड अवार्ड’ प्राप्त गर्दै आफ्नो पहिचानलाई राष्ट्रियस्तरमा झनै बलियो बनाएको छ। वर्ष २०२५ मा संस्थाले गरेको उल्लेखनीय सामाजिक योगदान, प्रभावकारी नेतृत्व र युवामैत्री कार्यक्रमहरूको समग्र मूल्याङ्कन गर्दै नेपाल जेसीजले उक्त सम्मान प्रदान गरेको हो।वि.सं. २०७५ मा स्थापना भएको गल्याङ जेसीजले ‘समाजका लागि नेतृत्व’ भन्ने मूल नारालाई व्यवहारमा उतार्दै गल्याङ नगर र आसपासका क्षेत्रका युवाहरूलाई संगठित गर्दै आएको छ। १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको सक्रिय सहभागितासँगै संस्था समाज रूपान्तरणका अभियानमा निरन्तर जुटिरहेको छ।
सामाजिक समावेशिता, स्थानीय संस्कृति संरक्षण, महिला सशक्तिकरण, युवा नेतृत्व विकास, शिक्षा प्रवर्द्धन, स्वास्थ्य सचेतना र वातावरण संरक्षणका क्षेत्रमा गल्याङ जेसीजले देखाएको सक्रियता उल्लेखनीय छ। चाहे श्रमिक सम्मान होस् वा माता सम्मान कार्यक्रम, चाहे विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण होस् वा प्रजातन्त्र र सहिद दिवसमा दीप प्रज्वलनसहितको सम्मान कार्यक्रम — संस्थाले स्थानीय समाजसँग नजिकिँदै जनभावनालाई सम्मानजनक ढंगले आत्मसात् गर्दै आएको छ।
त्यस्तै, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन, आकस्मिक रक्तदान, विपद् व्यवस्थापन, उद्धारकार्य, वृक्षरोपण, जलचर संरक्षण, बालमैत्री कार्यक्रम, खेलकुद सामग्री वितरण र नेतृत्व तालिमजस्ता कार्यक्रमले गल्याङ जेसीजको गतिविधिलाई अझ प्रभावशाली बनाएको छ। समाजका हरेक तहमा हस्तक्षेप गर्दै गल्याङ जेसीजले ‘सेवामा नेतृत्व’को सशक्त उदाहरण प्रस्तुत गर्दै आएको छ।नेपाल जेसीजले देशभरका शाखाहरूको कार्यक्रमको प्रभाव, नवप्रवर्तन, अभिलेखिकरण र नेतृत्व क्षमताको समग्र समीक्षा गर्दै गल्याङ जेसीजको कार्यशैलीलाई अनुकरणीय मान्दै ‘गोल्ड अवार्ड’द्वारा सम्मान गरेको हो। अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकको नेतृत्वमा संस्था सुशासन, पारदर्शिता र नवाचारयुक्त दृष्टिकोणका साथ अघि बढिरहेको छ।सामाजिक सञ्जालमार्फत समेत गल्याङ जेसीजले आफ्नो उपस्थिति बलियो बनाएको छ। फेसबुक, टिकटकलगायतका माध्यमबाट कार्यक्रमहरूको यथार्थ विवरण, सूचनामूलक सामग्री र जनचेतनामूलक सन्देश प्रवाह गर्दै संस्था जनताको विश्वास जित्न सफल भएको छ।’गोल्ड अवार्ड’ले संस्थालाई थप प्रेरणा र जिम्मेवारी दिएको छ। गल्याङ जेसीजले यो सम्मानलाई नयाँ उचाइमा पुर्याउने अवसरको रूपमा लिँदै आगामी दिनहरूमा पनि समाज परिवर्तन, युवा सशक्तिकरण र स्थानीय विकासमा आफूलाई अझै समर्पित बनाउने प्रतिबद्धता जनाएको छ। गल्याङको नामलाई राष्ट्रियस्तरमा चिनाउने कार्यमा समर्पित गल्याङ जेसीज अब सामाजिक सेवाको प्रतिकको रूपमा स्थापित हुँदै गएको छ — जहाँ नेतृत्व केवल पदको लागि होइन, समाजसेवाको लागि लिइन्छ।










