स्याङ्जाको कोटाकोट बेसिमा अवस्थीत राधाकृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी धूमधामका साथ सम्पन्न

प्रकाशित मिति:

स्याङ्जा, कालीगण्डकी गाउँपालिका–२ कोटाकोट बेसिमा अवस्थित राधाकृष्ण मन्दिरमा यस वर्ष पनि कृष्ण जन्माष्टमी विशेष धार्मिक उत्साहका साथ सम्पन्न गरिएको छ। भगवान श्रीकृष्णको जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा रुद्री, अष्टमी पूजा तथा विभिन्न धार्मिक अनुष्ठान गरिएको थियो।कार्यक्रमकै क्रममा मन्दिरको विकासमा निरन्तर सहयोग पुर्याउँदै आएका चन्दादाता तथा गाउँका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो। यसले नयाँ पुस्तालाई धार्मिक कार्यमा सक्रिय हुन प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरे।पूजामा गाउँभरिका दाजुभाइ तथा दिदीबहिनीको उल्लेख्य सहभागिता थियो। महिलाहरुले तीजका परम्परागत गीत गाउँदै नृत्य प्रस्तुत गरेपछि धार्मिक माहोल अझै रमाइलो बनेको सहभागीहरुले बताए।

यस अवसरमा सर्वसाधारणलाई प्रसाद वितरण गरिएको थियो, जसको सौजन्य शृजनशिल बहुउद्देश्यीय क्लबका अध्यक्ष ईश्वरि प्रसाद पाण्डेयले गर्नु भएको हो। उहाँले मन्दिर तथा धार्मिक गतिविधिलाई निरन्तर सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो। स्थानीयवासीका अनुसार राधाकृष्ण मन्दिर केवल धार्मिक आस्था मात्र नभई गाउँकै सामाजिक तथा सांस्कृतिक मिलनस्थलका रूपमा स्थापित हुँदै आएको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीमा आयोजना हुने पूजाअर्चना, सम्मान कार्यक्रम र सांस्कृतिक प्रस्तुतीले गाउँलेबीच एकताको सन्देश फैलाउने गरेको छ।