
५६७ जनाको प्रोफाइल खोज्दै प्रहरी- स्याङ्जा प्रहरीको निसानामा फरार प्रतिवादीहरु
स्याङ्जा । नयाँ बर्ष लागेसगै स्याङ्जा प्रहरीले अदालतबाट कसुरदार ठहर गरेका फरार अभियुक्तहरुलाई निसाना बनाइरहेको छ । जेठमा प्रहरी प्रमुख फेरिए सगै स्याङ्जाको सुरक्षा कमाण्ड सम्हाल्न आएका प्रहरी उपरीक्षक दधिराम न्यौपानेको पहिलो फरार अभियुक्त समात्ने निर्णय अनुसार उनीहरु निसानामा परेका हुन् । अदालतबाट दोषी ठहर गरेपछि फरार रहेर कानुनको ध्वज्जी उडाइरहेका अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउने कर्तव्य नेपाल प्रहरीको पहिलो प्रथामिकता हो । यही अनुरुप जिल्ला प्रहरी प्रमुख न्यौपानेले आफ्ना मातहतका कार्यालयलाई फरार अभियुक्त धमाधम समात्न निर्देशन दिए । आफ्ना कमाण्डरको निर्देशन पालना गर्दै प्रहरी जवान देखी अधिकृतसम्मले अहिले फरार अभियुक्तको प्रोफाइल पल्टाइरहेका छन् । जेठ महिनादेखी स्याङ्जा प्रहरीले ८९ जना फरार अभियुक्त पक्राउ गर्न सफल भएको छ । हरेक दिने एकजना फरार अभियुक्त समात्ने अभियाननै चलाएको स्याङ्जा प्रहरीले अहिलेसम्मको तथ्याङ्क हेर्दा झण्डै दिनको एकजनाकै दरले फरार अभियुक्त पक्राउ गर्न सफल भएको देखिन्छ । २०५० सालमा सर्वोच्च अदालले कैद सजाय तोकिएका फरार अभियुक्त देखी जिल्ला अदालत स्याङ्जाले कैद सजाय तोकिएकाहरु समातिएका छन् । स्याङ्जामा अदालतले दोषी ठहर गरेका ५ सय ६७ जना प्रतिवादी अझै फरार रहेको तथ्याङक छ ।
फरार अभियुक्त धमाधम समातिनेक्रम बढेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गरेको कार्यसम्पादन पत्रकार भेटघाट मार्फत सार्वजनिक गर्दै आइरहेको छ । साउन महिनाको कार्यप्रगति सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वडा प्रहरी कार्यालय वालिङमा पत्रकार भेटघाट गरेर जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले पत्रकार भेटघाट कार्यक्रममा प्रहरीको जनशक्ति सहित साउन महिनामा गरेको कार्यसम्पादनका बिषयमा जानकारी दिए । साउन महिनामा प्रहरीले २५ जना फरार प्रतिवादी पक्राउ गरेको छ भने विभिन्न मुद्धामा २२ जना पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेका २५ जना फरार प्रतिवादीले १० बर्ष ९ महिना २ दिन कैद भुक्तान गर्नुपर्ने छ भने ८ लाख २० हजार ६ सय ५५ जरिवाना भुक्तानी गर्नुपर्ने छ ।साउन महिनामा ज्यान मार्ने उद्योगमा १, चोरीमा २, नागरिकतामा १, अभद्र व्यवहारमा ७, बैकिङ कसुरमा २, झुडी आत्महत्या ४, फुटकर ज्यान उद्योगमा ४, भवितव्य ज्यन १, लागुऔषधमा १ र बालयौन दुरुपयोगमा १ जनालाई पक्राउ गरी कारवाही गरेको प्रहरी प्रमुख न्यौपानेले बताए । अबैध रुपले नदीखोला उत्खनन् गर्ने ६ वटा सवारी साधन नियन्त्रणमा लिएको, लागुपदार्थ सेवन गरी सवारी चलाउने ७ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको, ४८ हजार ७ सय ५८ गाँजाका बोट नष्ट गरिएको, अबैध खाद्य बस्तु, लत्ताकपडा सहितका सरसमान नियन्त्रणमा लिएर राजश्व कार्यालय पठाइएको लगायतका काम प्रहरीले गरेको पत्रकार भेटघाटमा प्रहरी प्रमुख न्यौपानेले दिए ।
नियन्त्रित लागुऔषध सहित मानिस नियन्त्रण, चोरीका अभियुक्त पक्राउ, झुट्टा निवेदन दिने पक्राउ, चोरीमा संलग्न पक्राउ लगायत विदेशी नागरिक विना प्रवेसाज्ञा गरी बसेका दुइजनालाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको समेत प्रहरी उपरीक्षक न्यौपानेले पत्रकार भेटघाटमा बताए । हरितालिका तिज नजिकिदै गर्दा शान्तिसुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आमा समुहहरुसगँ प्रहरी भन्ने कार्यक्रम संचालन गरेको प्रहरी प्रमुख न्यौपानेले बताए । प्रहरीले नेपालीहरुको महान पर्व दशैतिहार नजिकिदै गरिरहेका बेला सुरक्षा गस्ती बढाउने तयारीमा रहेको जनाएको छ ।वडा प्रहरी कार्यालय वालिङमा भएको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्न राज चौधरी, वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कमल राज पण्डित लगायत प्रहरी निरिक्षक सुजन विक, कुमार शर्माको सहभागिता रहेको थियो । जिल्लाभरका एकदर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।
५६७ प्रतिवादी अझै फरार-जिल्ला अदालत स्याङ्जामा फरार रहेका प्रतिवादीको संख्या उच्च छ । देशका विभिन्न अदालतबाट फैसलाभई कसुर ठहर भएका ५७६ जना प्रतिवादी अझै फरार छन् । जसले गर्दा अदालतको बेरुजु कैद र जरिवाना भुक्तानी गर्नुपर्ने प्रतिवादीको संख्या उच्च रहेको हो । फरार रहेका प्रतिवादीहरु २००९ सालदेखीका साउन मसान्तसम्मका रहेका छन् । जवरजस्ती करणी, चोरी, डाका, मानव बेचबिखन, नागरिकता, बैकिङ्क कसुर, चेक अनादार, हातहतियार खरखजना, सार्वजनिक सम्पत्ती, कर्तव्य ज्यान, अंश नामसारी, आत्महत्या दुरुत्साहन, बहुविवाह, लागुऔषध, सवारी ज्यान, शैक्षिक योग्यताको झुट्टा विवरण, अबैध रुख कटानी, भष्ट्रचार लगायत मुद्धाहरुमा कसुर ठहर भएका प्रतिवादीहरु रहेको जिल्ला अदालत स्याङ्जाका तहसिलदार रामप्रसाद पन्थीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट स्याङ्जा ठेगाना भएका प्रतिवादीहरुको नामावली अदालतले पठाइदिने र ठेगाना खुल्न कठिन भएकाले पक्राउमा समस्या देखिएको बताए । जिल्ला अदालत स्याङ्जाको तथ्याङक अनुसार सबैभन्दा धेरै फरार प्रतिवादी पुतलीबजार ठेगाना भएका छन् भने सबैभन्दा थोरै कालीगण्डकी गाउँपालिका ठेगाना रहेका छन् । पुतलीबजार नगरपालिका १५८, वालिङका १ सय, भीरकोटका १ सय, गल्याङका ५१, आँधीखोला गाउँपालिकाका ४४, बिरुवाका ३८, चापाकोटका ३५, हरिनासका ३५, फेदिखोलाका ३२, अर्जुनचौपारीका १६ र कालीगण्डकी गाउँपालिकाका ११ जना प्रतिवादी फरार रहेको उल्लेख छ । अहिले प्रहरीले यीनको खोजीकार्यलाई तिब्र बनाएको छ ।