बुटवल पब्लिक स्कुलमा बाबुको मुख हेर्ने दिन विशेष कार्यक्रमसहित मनाइयो

प्रकाशित मिति:

बुटवल । बुटवल पब्लिक स्कुलले बुवाको मुख हेर्ने दिनको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी विद्यालय परिवारले पिता–पुत्रबीचको प्रेम र सम्मानलाई झनै सुदृढ तुल्याएको छ । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रममा कक्षा ५ का विद्यार्थीहरूले आफ्ना बाबुप्रति आदर र कृतज्ञता प्रकट गर्दै नृत्य, गीत र भावपूर्ण मन्तव्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले बाबुलाई मिठाई अर्पण गर्दै आशीर्वाद ग्रहण गर्ने क्रम विशेष आकर्षण बनेको थियो ।

यस अवसरमा विद्यार्थीहरूले आफ्ना बाबुलाई परम्परागत ढाका टोपी लगाइदिएपछि कार्यक्रमको वातावरण अझै भावनात्मक र उल्लासमय बनेको थियो । बाबु–सन्तानबीचको आत्मीय सम्बन्धलाई उजागर गर्ने यस क्षणले धेरैलाई भावुक तुल्याएको थियो ।विद्यालयले बाबुको अथक माया, मार्गदर्शन र जीवनभरको योगदानप्रति सम्मान व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा संस्कार, मूल्य र परिवारप्रतिको कदर गर्ने चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरेको थियो । कार्यक्रमको अन्त्यमा विद्यालयले सम्पूर्ण बाबुलाई “बाबुको मुख हेर्ने दिन”को शुभकामना दिँदै परिवार र समाजमा बाबुको योगदान सधैं प्रेरणादायी रहने उल्लेख गरेको थियो ।

थप समाचार