काठमाडौं- जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल भईरहेको छ । केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकार विहीनताको अवस्था सिर्जना भएको छ ।अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुको एउटा समुहले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ। अर्को समूहका अध्यक्ष सुदन गुरुङले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार भएको र त्यसमा धेरैको सहमति जुटिसकेको बताए । उनले पत्रकार सम्मेलनमा संसद् विघटन पनि आफूहरूको मुख्य माग रहेको बताउँदै त्यसपछि मात्रै अरु कामहरू अघि बढने बताए।
उनले आफूहरूअनुकूल हुने मन्त्रिमण्डल निर्माण गरेर जेनजी पुस्ताले त्यसको निगरानी गर्ने पनि बताए। मन्त्रिमण्डल निर्माण र यसका अन्य प्रक्रियाका विषयमा भने आफूहरू छलफलमा जुटिरहेको उनले बताए । यसअघि नेपाली सेनाका प्रधानसेनापतिसहितको छलफलमा पनि हामी नेपाली समूहका प्रतिनिधिहरू सहभागी थिए।जेनजी प्रतिनिधि अनिल बानियाँले जेनजीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए। उनले सिंहदरबार, न्यायलयलगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ। देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरुले लुटेका छन्। यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन्। हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटामोलको अभाव छ। देशमा बुढाखाडाबाट वाक्कदिक्क भएर देश खोक्रो हुने अवस्थामा पुगिसकेको छ, हामीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थियौं। केही केही समुह आएर देशको संरचनामाथि आगो लगाएका छन्।










