सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सबै तयार, संसद् विघटनमा कुरा अड्कियो

प्रकाशित मिति:

काठमाडौं । जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शासन सत्ताको बागडोर सम्हाल्न आउने भएकी छन् । तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न नसकेपछि मध्यरातिसम्म राष्ट्रपति कार्यालय, शितलनिवासमा बसेको वार्ता निष्कर्षविहीन भएको छ । जेनजीतर्फबाट संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान रह्यो भने राष्ट्रपति पौडेलले संसद्बाटै निकास निकाल्ने कुरामा जोड दिनु भएको छ ।यस्तोमा शुक्रबार बिहान फेरि छलफलमा बस्ने गरी वार्ता टुंग्एिको राष्ट्रपति कार्यालय स्रोतले वताएको छ । नेपाली सेनाको जंगीअड्डामा बुधबार भएको छलफलपछि जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका रुपमा कार्कीको नाम प्रस्ताव गरेका थिए ।

राष्ट्रपतिले जेनजी आन्दोलनको म्यान्डेट अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बनाउन सहमति जनाएका छन् । तर, दलका अधिकांश नेताले उनलाई संविधान र संसद्को फ्रेमबाट शासकीय जिम्मेवारी दिनसक्ने प्रबन्ध गर्नुपर्ने मत राखेका छन् ।शीतलनिवास राष्ट्रपति कार्यालयमा कांग्रेस नेताहरुले टेलिफोनमार्फत नै पार्टीको मत राखेका थिए ।स्रोतका अनुसार, कांग्रेस नेताहरुले अहिले उत्पन्न परिस्थितिमा नयाँ सरकार गठनका लागि सहयोग गर्न पार्टी तयार रहेको सन्देश दिएका छन् ।राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसँग समेत परामर्श गरेका छन् ।यसअघि संविधानसभा विघटन भइसकेपछिको अवस्थामा राजनीतिक संकट चुलिएपछि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई २०६९ सालमा मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको थियो .- यो स्थितिमा मुलुकका सबै पक्ष सुशीला कार्कीलाई चुनावी सरकारको सरकारको नेतृत्व सुम्पिन तयार छन् । यद्यपि, संसद् रहने वा नरहने भन्ने विषयमा मात्र निर्क्यौल हुन बाँकी छ । काठमाडौवाट दिपक न्योपानेको सहयोगमा तयार पारीएको रिपोर्ट