मुलुकको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला बन्ने भएकी छन् ।विराटनगरमा कानुन व्यवसायबाट आफ्नो करियर सुरु गरेकी उनी सर्वोच्च अदालतको न्यायाधीश बनेकी थिइन् ।न्यायपालिकामा रहँदा हक्की स्वभावका कारण चर्चामा आएकी पूर्वप्रधानन्यायाधीश कार्कीले जेनजीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।केही वर्षयता मुलुकको राजनीतिक तहमा देखिएको विकृति र विसंगतिमाथि तिखो टिप्पणी गर्दै आएकी कार्कीको नाममा आन्दोलनकारी जेनजीका प्रतिनिधिदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन र प्रमुख राजनीतिक दलहरूले सहमति दिएका हुन् ।
बृहत् नागरिक आन्दोलनमा पनि सक्रिय बनेकी उनले पछिल्लो वर्षहरूमा नेपालको राजनीतिमा फैलिएको भ्रष्टाचार र नेताहरूले सत्ताप्राप्तिका लागि गरेको गलत क्रियाकलापको खुलेर आलोचना गरिरहेकी थिइन् ।न्यायपालिकाको नेतृत्व गरेको व्यक्ति पर्खाल चढेर सिंहदरबार पुग्ने लालसा राख्नुहुँदैन भन्ने बहुचर्चित मान्यता प्रतिपादनमा संलग्न कार्की आफ्नै त्यही दृष्टिकोणलाई बिर्सेर सिंहदरबार पस्दैछिन् ।आन्दोलनकारी, नागरिक समाज र राजनीतिक दलका नेताहरू समेत लोकतान्त्रिक अभ्यासमा अभ्यस्त नभएको व्यक्तिको तुलनामा विश्वासयोग्य ठानेर उनको नाम अघि सारेका थिए । आगजनीले ध्वस्त भएको र संस्थागत स्मरण करिब–करिब नरहेको सिंहदरबारमा पुगेर उनले मुलुकलाई राजनीतिक निकास दिए यो संवैधानिक क्षतिको ‘औचित्य’ हुने कतिपयको धारणा छ ।आफ्ना कमजोरीलाई पैतालामा दबाएर राजनीतिक विश्वासमार्फत निर्वाचन सम्पन्न गरी मुलुकलाई नयाँ निर्वाचित जनप्रतिनिधिको हातमा सुम्पिनु उनका लागि सजिलो काम होइन ।
हिजो आफैंले प्रतिपादन गरेको न्यायिक दृष्टिकोण विपरीतको कदमलाई ‘आवश्यकताको सिद्धान्त’ भन्न जति सजिलो छ, भोलि आफ्नो कामकारबाहीबाट त्यसको पुष्टि गरेर सफलता पाउनु अर्को चुनौती हो । दशकअघि खिलराज रेग्मी लगभग सबै राजनीतिक दलहरूको सहमतिमा चुनाव गराउने म्याण्डेट सहित सिंहदरबार पुगेका थिए । त्यसको तुलनामा आज पूर्वप्रधानन्यायाधीश कार्कीलाई कैयौं चुनौती छन् ।
उनको खरो र निर्भिक अडान एकातिर छ, इतर विचारलाई हतपत विश्वास नगर्ने उनको अर्को कमजोरी हो । राजनीतिक पृष्ठभूमि र दर्शन सहितका राजनीतिक पक्षको विश्वास जित्न निकै हम्मेहम्मे हुनेछ । आफ्ना कमजोरीलाई पैतालामा दबाएर राजनीतिक विश्वासमार्फत निर्वाचन सम्पन्न गरी मुलुकलाई नयाँ निर्वाचित जनप्रतिनिधिको हातमा सुम्पिनु उनका लागि सजिलो काम होइन । विगतमा आफैंले प्रतिपादन गरेको मान्यतालाई भूलेर यो जिम्मेवारी सम्हालेकी उहाँलाई मुलुककै अस्तित्व जोगाउन पनि असफल हुने छुट छैन ।










