जेनजी आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटमा दुई खर्ब क्षतिको अनुमान

प्रकाशित मिति:

काठमाडौं, असोज – जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा करिब दुई खर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी भौतिक संरचना ध्वस्त हुँदा झण्डै दुई खर्वको क्षति भएको अनुमान गरिएको हो। अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङले यस्तो फेहरिस्त सुनाएका हुन्।उनले ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको पनि बताए।मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनी तथा तोडफोड निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका पूर्वाधार र निजी सम्पत्तिमा व्यापक क्षति पुगेको जानकारी दिँदै करिब दुई खर्ब रुपैयाँको क्षति भएको बताए।

‘करिब करिब डेढ दुई खर्ब बढीको संरचना ध्वस्त भएका छन्। यी ध्वस्त भएका संरचनालाई हामी नेपालीहरूले नै श्रमदानबाट र आर्थिक सहयोग जुटाएर नेपालीले नै बनाउनुपर्ने काँधमा आएको छ,’ उनले भने।यस्ता संरचनाको पुनर्निर्माणका लागि श्रमदान तथा आर्थिक सहयोग आवश्यक रहेको पनि उनले बताए। मन्त्री घिसिङका अनुसार सरकारले पुनर्निर्माण कोष स्थापना गरिसकेको छ। उक्त कोषमा इच्छाअनुसार आर्थिक सहयोग गर्न उनको आग्रह थियो।