बुटवल । अर्थराजनीतिक विश्लेषक एवम् अर्थविद् मनिकर कार्कीको हालसालै प्रकाशित ‘अर्थदृष्टि’ नामक पुस्तकमाथि सोमबार बुटवलमा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुस्तकको दोस्रो संस्करण प्रकाशनको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर बावुराम ज्ञवालीले पुस्तकमा समावेश गरिएका विषयवस्तु सबै पाठकले बुझ्ने गरी सरल एवम् सरस रहेकोले सबैका लागि उपयुक्त अध्ययन सामग्री हुनसक्ने बताउनुभयो । उहाँले देशको विकासका लागि सबैभन्दा पहिले स्पष्ट आर्थिक दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सबैले निजी क्षेत्रको मनोवल उच्च राख्न जरुरी रहेको कुरामा जोड दिनुभयो । उहाँले पुस्तकमा आर्थिक विकासका लागि निजी क्षेत्रको आवश्यकतालाई उजागर गरेको र आर्थिक रुपान्तरणका लागि नयाँ मोडेलसमेत प्रस्ताव गरिएको हुँदा यो नीति निर्माताहरुले यो पुस्तक अध्ययन गर्नका लागि सुझाव समेत दिनु भयो । कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपाली अर्थतन्त्रका मुख्य चुनौतिको पहिचान र दीर्घकालीन समाधानका लागि आयातित विचार नभई मौलिक विचार र मोडललाई प्राथमिकताका साथ अभ्यासमा लैजानुपर्ने बताउनु भयो । नेपाली अर्थतन्त्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा यो पुस्तक सन्दर्भ सामग्री दस्तावेज बन्नेमा कुनै शंका नभएको बताउनु भयो ।
विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले राज्यले स्थानीय उद्यमीलाई नेपाल मै लगानी र श्रम गर्ने वातावरण बनाउन ढिलाइ गर्दा युवा उद्यमी उत्पादन गर्न नसकिएको बताउनु भयो । नेपाली उद्योगले विगतदेखि नै कच्चापदार्थ , जनशक्ति र नीतिगत समस्या झेलिरहेका कारणले वर्तमान पुँजी पलायनमा वृद्धि आएको बताउनुभयो । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाईंले पुस्तकले उठान गरेका सबालमा सुक्ष्म विश्लेषण गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले देशमा उत्पन्न सामाजिक आर्थिक राजनीति संकटलाई समाधान गर्ने र निराशमा रहेको निजि क्षेत्रलाई उत्साहित गर्ने गरी लेखकहरु प्रस्तुत हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्राध्यापक राजेन्द्र लम्सालले आर्थिक विकास र समृद्धि हासिल गर्ने सवालमा पुस्तकले वर्तमानको अन्यौलतालाई नयाँ दिशादिन समेत सफल भएको बताउनुभयो । कार्यक्रममा कृष्ण पाण्डे, सञ्जिव भण्डारी, गणेश घिमिरे, नवीन सुनुवार, सन्देश चापागाईंलगायतले पुस्तकमाथि चर्चा गर्दै लेखकलाई सुझाव दिनुभएको थियो ।
कार्यक्रममा आफ्नो लेखकिय अनुभव र दोस्रो संस्करणको आवश्यकता बारेमा लेखक मनिकर कार्कीले प्रष्ट पार्नु भएको थियो । कार्कीले अर्थदृष्टिको दोस्रो संस्करणमा अर्थशास्त्रीय तथ्याङ्कहरु अध्यावधिक गरिनुका साथै समय र सन्दर्भ अनुसारका केही तथ्य र विश्लेषण थप गरिएको बताउनुभयो । साथै पुस्तकमा उहाँले नेपालको आर्थिक इतिहासको पुनरावृत्ति गर्दै नेपाली समाज र अर्थतन्त्रको ऐतिहासिक चरित्र उजागर गरी मुलुकको अल्पविकासका कारणहरु खोतल्ने प्रयत्न गरिएको बताउनुभयो । आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष हुमराज भुसालको अध्यक्षता, कोषाध्यक्ष जीवन परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।












