बुटवलमा माघमा कृषि मेला हुने

प्रकाशित मिति:

बुटवल, १७ कात्तिक । बुटवलमा आगामी माघमा कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा यहि माघमा कृषि मेला गर्न लागिएको हो । सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको १४ देखि १८ गतेसम्म बुटवलको प्रदर्शनी स्थल ‘बुटवल मण्डप’मा कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि संघले २०६२ सालदेखि गर्दै आएको विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगामी माघमा आयोजना गर्न लागिएको कृषि मेलालाई नमुना कृषि मेलाका रुपमा आयोजना गर्ने निर्णय गरिएको हो । नेपालमा परम्परागत रुपमा हुँदै आएको कृषि प्रणाली पछिल्लो समयमा व्यवसायिक रुपमा सुरुवात भएको र यसलाई अझै कसरी बैज्ञानिक बनाउन सकिन्छ र कसरी प्रतिस्पर्धी क्षमताको विकास गर्न सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिईने अध्यक्ष अर्यालले बताउनु भयो ।

उहाँका अनुसार कृषि प्रणालीको विकास र प्रर्वद्धनका लागि किसान, सेवा प्रदायक संस्थाहरु, उपभोक्ता र सरकार बिचको तारतम्य मिल्न आवश्यक छ । ‘मेलामा यी चार संयन्त्रको तारतम्य कसरी मिलाउन सकिन्छ भन्ने कुराको समेत खोजी हुनेछ’, उहाँले भन्नुभयो । त्यसैगरी कृषिजन्य उत्पादनहरुको प्रदर्शनी, बिक्रि वितरण, कृषि प्रविधि, औजार तथा उपकरणको प्रदर्शनी तथा विक्रि वितरण, किसान, उपभोक्ता, सेवा प्रदायक संस्थाहरु र सरकार बिच अन्तरक्रिया लगायतका कार्यक्रम गरिने छ । त्यसैगरी कार्यसमिति बैठकले मजदुर नेता कमल गौतमको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुटवल निवासी जिफण्टका केन्द्रीय उपाध्यक्ष गौतमको यहि कात्तिक १३ गते ट्रंक लाईन विवादमा भैरहवामा आयोजना गरिएको उद्योगीहरुको विरोध प्रदर्शनमा मन्तव्य राख्ने क्रममा वेहोस भई लडेर मृत्यु भएको थियो ।