बुटवल लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा छुट्टाएको बजेट पहिलो चार महिनामै सकिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ मा भवन निर्माणका लागि १ अर्ब रूपैयाँ विनियोजन गरेको थियो। उक्त रकम अघिल्लो आर्थिक वर्षमा भएको कामको भुक्तानीमै सकिएपछि चालु वर्षका लागि बजेट अभाव भएको हो। सरकारको गौरवको आयोजना भनिए पनि भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि निर्माण कम्पनीले उधारोमै काम गरिरहेको छ। सरकारले विनियोजन गरेको १ अर्ब रूपैयाँ मध्ये ८५ करोड रूपैयाँ अघिल्लो वर्षको भुक्तानीमा सकिएको छ। बाँकी १५ करोड रूपैयाँ चालु वर्षमा भएको कामको भुक्तानी गरिएको छ भने कात्तिकसम्म सम्पन्न कामको अझै २४ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ।
भवन निर्माणका लागि रकम अभाव भएपछि प्रदेश सरकारसँग चालु वर्षका लागि थप ८० करोड रूपैयाँ माग गरिएको छ । ‘अहिलेसम्मकै २५ करोड भुक्तानी गर्नुपर्ने छ, अहिले भइरहेको कामको प्रगतिलाई हेर्दा बाँकी आठ महिनाका लागि समेत गरी ८० करोड आवश्यक पर्छ निर्माण कम्पनीलाई नियमित रूपमा रकम भुक्तानी गर्न सके निर्माणको काम पनि समयमै पूरा हुने भएकाले सरकारले पनि रकम थप गर्ने आश्वासन दिएको छ । ‘निर्माण कम्पनीले जसरी काम गरिरहेको छ यही गतिमा अगाडि बढ्ने र सरकारले पनि बजेट विनियोजन गर्ने हो भने निर्धारित समयभन्दा अगाडि नै भवन निर्माणको काम सम्पन्न हुन सक्छ,प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ईन्जिनीयर छविराज पोख्रेलले भने ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका तर्फबाट भवन निर्माणमा खटिएका साइट इन्जिनियर शंकर सुवेदीका अनुसार निर्माण कम्पनीलाई पेश्की स्वरूप ठेक्का सम्झौताको २० प्रतिशत रकम दिने प्रावधान रहे पनि निर्माण कम्पनीले पेश्की स्वरूप १८ प्रतिशत रकम लगेको छ। यसरी लगेको पेश्की रकम ३० प्रतिशत काम पूरा नगर्दासम्म काट्न पाइँदैन। अहिले भइरहेको रफ्तारमा काम भइरहे आगामी असार मसान्तसम्म ५० प्रतिशत जति काम सम्पन्न गर्ने लक्ष्य लिइएको सुवेदीले बताए। ‘ठेक्का सम्झौता गरिएको अवधिबाट हेर्ने हो भने चालु आर्थिक वर्षभित्र ४७ प्रतिशत काम पूरा गर्नुपर्ने कार्य तालिका छ। तर, कामको प्रगतिलाई हेर्दा यस वर्ष ५० प्रतिशत काम सम्पन्न हुन्छ भन्ने अपेक्षा गरेका छौं,’










