कञ्चन–३ मा १७ वर्षीय इशान शर्माको विभत्स हत्या प्रति कांग्रेस सभापति रामकृष्ण खाणद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग

प्रकाशित मिति:

रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी निवासी अर्जुन शर्मा र रमा शर्माका १७ वर्षीय सुपुत्र इशान शर्माको पुस २ गते राति विभत्स हत्या गरी घर नजिकैको नालिमा शव फेला परेको घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले गहिरो दुःख व्यक्त गर्नुभएको छ। यस प्रकारको घटनाले समाजमा गम्भीर चुनौती थपिएको बताउँदै सभापति खाणले नयाँ पुस्ताका ऊर्जावान र होनहार युवाको यसरी निर्मम हत्या हुनु अत्यन्त दुःखद र निन्दनीय रहेको उल्लेख गर्नुभयो।
घटनाको जानकारी लिन सभापति खाणसहित कांग्रेस महासमिति सदस्य विष्णु पोखरेल लगायत पार्टीका नेताहरू घटनास्थल पुग्नुभएको थियो। सो अवसरमा महासमिति सदस्य पोखरेलले यस्तो जघन्य घटनाले सम्पूर्ण समाजलाई झस्काएको बताउँदै भने, “नयाँ पुस्ताका प्रतिभाशाली युवाको यसरी हत्या हुनु अत्यन्त पीडादायी छ। घटनाको निष्पक्ष, प्रभावकारी र छिटो अनुसन्धान गरी दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।”

घटनास्थलमा महासमिति सदस्य विमल ढकाल, कांग्रेस नेता डोलबहादुर थापा, जिल्ला सदस्य अनुप यादव, कञ्चन गाउँपालिकाका सभापति देबिराम रेग्मी, गैडहवा गाउँपालिकाका कार्यवाहक सभापति योगेन्द्र चौधरी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नेपाली कांग्रेस सभापति मोहम्मद सईत खान, तरुण दलका केन्द्रीय सदस्य तथा पूर्व वडा अध्यक्ष दुर्गा सी. क्षेत्री, कञ्चन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केशर क्षेत्री, क्षेत्र नम्बर ५ (क) का कोषाध्यक्ष रामनारायण कोहार र सन्दीप दुवे लगायतको उपस्थिति रहेको थियो। कांग्रेस नेताहरूले प्रहरी प्रशासनसँग घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन्।