सुस्केरा फाउन्डेसन नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि धुप निर्माण तथा टोपी–स्विटर सिलाइ/बुनाइसम्बन्धी ८ दिने सीपमूलक तालिम
पुस अस्विन पंज्ञानी- स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९ मा सुस्केरा फाउन्डेसन नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि धुप निर्माण तथा टोपी–स्विटर सिलाइ/बुनाइसम्बन्धी ८ दिने सीपमूलक तालिम सुरु भएको छ। तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले सीपमूलक तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने बताउनुभयो। उहाँले अपाङ्गता अधिकारको संरक्षणका लागि गण्डकी प्रदेश सरकारले विधेयक नै पास गरी उदाहरणीय काम गरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले आफू सधैं आवाजविहीनहरूको आवाज बन्ने उद्देश्यसहित प्रदेश सभा सदस्य बनेको बताउँदै सहभागीहरूलाई सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। त्यसैगरी, चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाण (ईश्वर), प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालालगायत वक्ताहरूले यस्ता तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै सामाजिक समावेशीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। सुस्केरा फाउन्डेसनका संस्थापक सल्लाहकार दिपावलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भुवन भण्डारीले गर्नुभएको थियो। ८ दिनसम्म सञ्चालन हुने तालिममा ७० जना सहभागीको सहभागिता रहेको छ।











