स्वर्गको द्वार ! स्वर्गद्वारी मन्दिर !

प्रकाशित मिति:

स्वर्गद्वारीको नाम धेरै सुनेकी थिएँ। कुनै दिन जाने इच्छा मनमा पलाएको पनि थियो। तर, यति छिट्टै नै मेरो इच्छा पूरा होला भन्ने सोचेकी थिइनँ। स्वर्गद्वारी जाने साइत यही वैशाख १८ गते जुर्‍यो। बिहानै ४ बजे काठमाडौंबाट हिँडियो। नारायणघाटको बाटोमा पहिरो गएको बुझिएकाले हामी पोखरातिर लाग्यौं।

पोखराको यात्रा धेरैपल्ट गरिएको हो। तर, त्यहाँको पशुपतिनाथको दर्शन गर्ने अवसर जुरेको थिएन। पशुपतिनाथको दर्शन गर्ने सौभाग्य ज्वाइँ अनन्त अधिकारीले जुराइदिनुभएको थियो। हाम्रो पुग्ने लक्ष्य स्वर्गद्वारी थियो। त्यसैले समयको ख्याल गर्दै स्याङ्जातर्फ लाग्यौं।

स्याङ्जा मेरो कल्पनाभन्दा बाहिर थियो। पहाडैपहाडको काखमा बसेको साह्रै रमाइलो फाँट रहेछ। बाटोमा पर्ने स्याङ्जाको भ्यु टावर उक्लेर हेर्दा यो जिल्ला यति राम्रो र रमणीय होला भन्ने लागेको थिएन। हामी साँझ ६ बजेतिर पाल्पा पुग्यौं। त्यहाँको सौन्दर्य देखेर मैले पाल्पालाई पहाडकी रानीको उपमा दिएँ। पहिलो दिनको बास हाम्रो पाल्पामा नै भयो। हामी फ्रेस भएर राति पाल्पा बजार घुम्न निस्क्यौं। बजार घुम्दै जाँदा पाल्पाली ढाका तथा करुवाले साह्रै मोहित बनायो, त्यो किन्यौं र मन्दिर दर्शन गर्न गयौं। भगवती थान, पाल्पा दरबार, रानी महल आदि अवलोकन गरेर फर्कियौं।

बिहानै उठेर ६ बजे नै बुटवलतर्फ लागियो। बुटवलबाट दाङको देउखुरी उपत्यका हुँदै भालुवाङ पुग्दा बाटोमा दुवैतिर एकनासका सालका रूखहरू ज्यादै नै मनमोहक थिए। भनौं स्वर्गद्वारी जाने बाटो साँच्चै नै स्वर्गकै जस्तो लाग्दै थियो। भालुवाङबाट बडगाउँ भन्ने ठाउँमा चिया नास्ता गरियो। त्यहाँबाट भिंग्री ५० किलोमिटरको दूरीमा रहेछ। भिंग्रीबाट स्वर्गद्वारीको दूरी १५ किलोमिटर रहेछ। तर, बाटो ज्यादै उकालो र साँघुरो भएकाले जोकोहीले आफ्नो गाडी लिएर जाने आँट गर्दा रहेनछन्। हामीले पनि आफ्नो गाडी यतै बिसाएर भाडाको गाडीमा जाने विचार गरेका थियौं। आउनेजाने भाडा चार हजार रुपैयाँ रहेछ। भिंग्री अढाई बजे नै पुगेकाले भाडाको गाडी ५ बजे मात्रै जाने हुँदा के गर्ने भन्ने दोमन भयो। अन्तमा आफ्नै गाडीमा जाने निधो गर्‍यौं। चालक सिटमा बसेका ज्वाइँ अनन्त अधिकारीले म जसरी पनि पुर्‍याउँछु भन्नुभयो।

हामी हिँडेको १५–२० मिनेटपछि नै गाडीले उकालो तान्न सकेन। ओर्लेर गाडीलाई ठेल्यौं। धेरै सुनेकी थिएँ, भगवानको धाम जाँदा भगवान्ले नै रक्षा गर्छन् भनेर। हामीले गाडी ठेलेको पछाडिबाट आउने गाडीले देखेपछि उहाँहरू गाडीबाट ओर्लेर हामीकहाँ आउनुभयो। उहाँहरू त देवघाटको गुरु हुनुहुँदो रहेछ। हाम्रा सम्धि र सम्धिनीले चिनेको। हामीलाई ढुंगा खोज्दा देवता नै फेला परेजस्तो भयो। त्यसपछि बाटोमा कुनै विघ्नबाधा परेन। हामी सजिलैसँग स्वर्गद्वारी पुग्यौं।

त्यहाँबाट माथि मन्दिर पुग्न नौ सयवटा खुड्किला उक्लिनुपर्ने रहेछ। सजिलो खालका भर्‍याङ भएकाले सबैजना यात्रुसँग गफ गर्दै बाटोमा रमणीय दृश्यको फोटो खिच्दै, ऐँसेलु र काफल खाँदै कति खेर मन्दिर प्रांगणमा पुगियो, थाहै भएन।

त्यस दिनको मौसम पनि साह्रै रमाइलो थियो। न घाम न पानी, नीलो आकाश परैसम्म खुलेको थियो। बादलका थुम्काले मनै लोभ्यायो। मन्दिर परिसर पुगे पनि हामीलाई कत्ति पनि थकाइ महसुस भएको थिएन। देवघाटका गुरुहरूले आज यतै बस्नुपर्छ, हामी आ श्रमको बन्दोबस्त गरिदिन्छौं भन्नुभयो। धाममा बस्न पाएपछि हामी पनि थप उत्साहित भयौं। बस्ने राम्रो कोठा पाइएकाले हाम्रो मन प्रसन्न भयो। फ्रेस भएर हामी मन्दिरतिर घुम्न गयौं। त्यहाँ आफैंलाई खान भनेर सागसब्जी पनि उत्पादन गरेको देखियो। त्यहाँ स्थानीय जातिका गाई मनग्गे देखिए। त्यहाँ ७ बजे बेलुकीको आरती हुने रहेछ। हामी पनि आरतीमा सहभागी भयौं। त्यहाँ हरहमेसा अखण्ड धुनी बलिरहने रहेछ। तर, त्यो धुनी कसैले पनि हेर्न नपाउने रहेछ। आरती सकेर एकछिन भजनकीर्तन गरियो। त्यसपछि खाना खाइयो। त्यहाँको दाल, भात, तरकारी शुद्ध निरामिश खाना हामीलाई अमृतसरह नै भयो।

स्वर्गद्वारी मन्दिर पुग्न नौ सयवटा खुड्किला उक्लिनुपर्ने रहेछ। मन्दिर परिसर पुगे पनि हामीलाई कत्ति पनि थकाइ महसुस भएको थिएन।

बिहान झिसमिसेमै हाम्रो आँखा खुले। बिहान पनि मन्दिर दर्शन गर्‍यौं। तर, आ श्रमबाट निस्कन नपाउँदै मेघ गर्जनका साथ वर्षा सुरु भइहाल्यो। वैशाखमा पनि पुसमाघको जस्तो जाडो पो भयो। पानी थामिएपछि कालो चिया र बिस्कुटको ब्रेकफास्ट गर्‍यौं। बिहान ७ बजिसकेकाले फर्किने हतार गर्‍यौं। त्यहाँका दृश्य हुस्सुले ढाकेकाले हेर्नसक्ने अवस्था थिएन। फर्किंदा गाडी ओरालोमा आनन्दले गुड्यो, कतै कुनै विघ्नबाधा सामना गर्नु परेन।

भिंग्रीमा चियानास्ता खायौं। रोल्पा पुगेर घुमेर जाने पनि विचार आयो। सबैतिर पक्की बाटो पुगेकाले रोल्पा मैले विकसित नै पाएँ। फोटो खिच्ने क्रममा त्यहाँ एक महिलासँग हाम्रो परिचय भयो। तिनले हामीलाई असाध्यै धेरै आत्मीयता देखाइन्। उनले भनिन्, ‘घुमेर आउनुहोस्। म तपाईहरूलाई नास्ता खुवाउँछु।’ घुमेर फर्किंदा नास्ता तयार थियो। तिनले खुवाएको साग र मकैको रोटी जिब्रोमा अझै पनि गढेको छ। रोल्पामा कालीगण्डकीले ज्यादै मन लोभ्यायो।

बटडाँडाको फेदीमा नपुग्दै खाल्सा भन्ने ठाउँमा हाम्रो गाडी पन्चर भयो। तर, गाडीको धुरीबाट चक्का निकाल्न सकिएन। त्यस निर्जन ठाउँमा हामीलाई निकै अत्यास लागेको थियो। त्यति बेला कतैबाट दुईजना पानीको खोजीमा आए। ती स्काभेटरका चालक र सहचालक रहेछन्। हामी अलपत्र परेको देखेर आफ्नो गाडीको टुल बक्स लिन गए। उनीहरूले बल्ल रोग पत्ता लगाए। भित्र धुरीको नट बांगिएको रहेछ। त्यहाँ बलभन्दा बुद्धिको आवश्यकता चाहिने रहेछ। उनीहरूले नै अथक् प्रयास गरी अर्को चक्का राखिदिए। ती भाइहरूलाई हामीले हृदयण्देखि नै धन्यवाद दियौं। गाडी बिग्रिएर तीन घन्टाको समय खेर गइसकेको थियो। थकाइले बुटवलमै बसियो।

अर्को दिन नारायणघाटको आनन्द आ श्रम अवलोकन गरियो। झन्डै १८ रोपनीमा नारायणी नदीको तिरमा बसेको आ श्रम शान्त र सुन्दर रहेछ। त्यस आ श्रमका पुजारीले हामीलाई सबैतिर घुमाएर त्यहाँको वस्तुस्थितिबारे जानकारी पनि दिए। खाना खाएर देवघाटतिर लाग्यौं। त्यहाँ आ श्रमै आ श्रम रहेछन्। हाम्रो यात्राको चौथो दिनको बास देवघाट हरिहर सन्यास आ श्रममा हुने भयो। बसोबासको टुंगो लागेपछि त्यहाँ नारायणी नदीको डुंगामा सयर गर्न गयौं। एक्कासि चट्याङ पर्दै विशाल असिनापानी पर्न थाल्यो। त्यति ठूलो असिनापानी मैले यसअघि देखेकी थिइनँ। दुई घन्टाको अविरल वर्षा रोकिएपछि हामी आरती हुने ठाउँ गयौं। त्यहाँका वटुक सबै दुधे बालकजस्ता देखेर मेरो मन पग्लियो। तिनीहरूको दिनचर्या बिहानै ४ बजेबाट सुरु हुने रहेछ। कति संस्कारित र अनुशासित बालकहरू।

आरती सकिएपछि हामी खाना खान आ श्रमको भोजनालयतिर लाग्यौं। त्यहाँ परम्परागत ढाँचाले पिर्कामा बसेर खानुपर्ने रहेछ। खाना खाने धेरै नै थिए। सात्विक खाना दाल, भात, कटहरको तरकारी निकै मीठो थियो। खानापछि हामी आ श्रमका पीठाधीश ज्ञानानन्द सरस्वतीलाई भेट्न गयौं।

भोलिपल्ट बिहान मन्दिर परिक्रमा गरी काठमाडौंका लागि प्रस्थान गरियो। गजुरी पुग्दा बाटोमा कसैले सिलिन्डर वम राखेको भन्ने हल्ला सुनियो। त्यसलाई निष्क्रिय पार्ने सेना काठमाडौंबाट आइपुग्न एक घन्टा लाग्यो। त्यो त तर्साउन मात्रै बमजस्तो पारेर राखिएको रहेछ। हामी गन्तव्यस्थल काठमाडौं सकुशल आइपुग्यौं। पशुपतिको यात्रा, सिद्राको व्यापार भनेझैं यसपालि स्वर्गद्वारी यात्राको बहानामा धेरै ठाउँ घुम्ने अवसर जुर्‍यो।