विज्ञानले विश्वब्रम्हाण्ड तथा जीवन उत्पति र यसको विकासलाई आत्मा र मन वा मानसिकताबाट स्वतन्त्र राखी अध्ययन, अनुसन्धान र विश्लेषण गर्दछ । भौतिक यथार्थ आत्मा र मनबाट स्वतन्त्र भएको बुझेर नै विज्ञानले त्यसलाई बुझ्न खोज, अनुसन्धान, अन्वेषण, प्रयोग तथा परीक्षण गर्ने गरेको हो । यो विश्व संसारमा भौतिक पदार्थ नै प्राथमिक हो, आत्मा त त्यसको विकासको उपज मात्र हो भन्ने बुझाइ भौतिकवादको रहेको छ । आत्मा भौतिक शरीरबाट अलग भई अस्तित्वमा रहँदैन यो भौतिक शरीरसँग जोडिएको हुन्छ र जीवनको अवसानपछि आत्मा समाप्त हुन्छ । भौतिकवादले सिकाउने शिक्षा यही हो ।
तसर्थ भौतिकवाद दर्शन हो, जुन आध्यात्मवादको विपरीत छ । तर, विज्ञान दर्शन र पद्दति दुबै हो । दर्शन मात्र बोक्नु वा पद्दति मात्र बोक्नुले विज्ञान अपूर्ण हुन्छ । दर्शन मात्र बोक्नाले इसापूर्व चौथो शताव्दीका महान ग्रीक दार्शनिक अरस्तूको विज्ञान चाहिँ विज्ञान हुन सकेन । उनले जीवात्माहरु निर्जिव वस्तुबाट सृष्टि हुन्छ भन्ने दर्शन बोके र त्यसअनुसार हिलोबाट माछा जन्मिन्छ भन्नेजस्तो गलत कुराको वकालत गरे । आफ्नो दर्शनलाई पुष्टि गर्न उनले अनुसन्धान, प्रयोग, परीक्षणजस्ता वैज्ञानिक पद्दतिहरु अबलम्बन गरेनन्, जसकारणले आधुनिक विज्ञानलेपुष्टि गरेको निर्जीव वस्तुबाट जीवनको सुरुवात भएको हो भन्ने बिचार व्यक्त गरेर पनि उनको कुरो सही सावित हुन सकेन ।
महान् वैज्ञानिकहरु आइज्याक न्यूटन र अल्वर्ट आइन्स्टाइनले गणित विज्ञानकै आधारमा आफ्ना प्रसिद्ध सिद्धान्तहरु प्रतिपादन गरे । गणित विज्ञान वैज्ञानिक पद्दति हो । तर, तिनी दुबैले पद्दति मात्र बोक्नाले ईश्वरवाद र आध्यात्मवादमा फस्न पुगे । उनीहरुले विज्ञान पद्दतिलाई अङ्गाले पनि विज्ञानको दर्शन यानी कि भौतिकवादलाई अङ्गाल्न सकेनन् । प्रविधि पद्दतिको अर्को रुप हो । कतिपय मेडिकल डाक्टरहरुले प्रविधि वा पद्दति मात्र बोक्नाले रोग उपचारको नतिजामा ईश्वरको भरोसा राख्न पुग्छन् । उनीहरु ईश्वरीय शक्तिबाट चमत्कारको आशा राख्दछन् ।समग्रमा भन्नुपर्दा विज्ञान र आध्यात्मवाद विपरीत कुराहरु हुन् । त्यसैले कोही मानिस विज्ञानको विद्यार्थी वा विशेषज्ञ छन् भने पनि यदि उनले आध्यात्मवादी दर्शनलाई आफ्नो जीवन दर्शन बनाएको छ भने अन्ततः उनी विज्ञानबाट बाहिर नै रहनेछन् ।










