तरुण दल भैरहवाद्धारा न्यानो माया प्रदान

प्रकाशित मिति:

रुपन्देही / नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सिद्धार्थनगर समितिले नगरका बिपन्न वर्गलाई सिरक र डसना बितरण गरेको छ । तरुण दलद्धारा न्यानो माया प्रदान कार्यक्रम नाम दिएर नगरका सबै वडामा रहेका ६६ परिवारलाई सिरक र डसना बितरण गरिएको कार्यक्रम संयोजक कोशिश खडकाले जानकारी दिए । न्यानो माया प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले नेपाली कांग्रेस सधै बिपि कोईरालाको समाजवादको बाटोमा हिड्ने बताए । उनले बिपिले सधै बिपन्न वर्गको सहयोगको लागी आव्हान गरेकै बाटोमा कांग्रेस हिडेको बताए ।

फरक प्रसंगमा बोल्दै रज्जाकले अहिले दुई तिहाईको सरकार अराजकता तर्फ उन्मुख भएको हुदा तरुणहरुलाई त्यसको प्रतिकारमा उत्रन आव्हान गरे । सरकारले जनतालाई कर, महंगाई, बढाउनुको साथै जनतालाई सुरक्षाको प्रत्याभुति समेत गराउन नसकेको आरोप लगाए । यस बिषयमा खबरदारी गरि जनतालाई सुसुचित बनाउन तरुणहरु अगाडी बढ्नु पर्ने उनले बताए ।

नेपाल तरुण दल सिद्धार्थनगर समितिका सभापति दिपेन्द्र बुढाप्रिथिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष फणिन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, पूर्व सांसद ईश्तियाक अहमद खाँ, जन्नतुननिशा, महासमिति सदस्य देवी प्रसाद चौधरी, गोपालमान राज भण्डारी, माधवी शर्मा लगायतले बोलेका थिए ।