अर्जुन ज्ञवाली
एउटा निशब्द
कहालीलाग्दो
कालारात्रीको जन्जिर भित्र
रुमल्लिएका कैयन जिन्दगीहरु
रैतीको नाममा
बन्दी बनाइएका कैदीहरु
फाटेको जिन्दगीलाई
टाल्ने अभिप्रायले
छताछुल्ल बनेका सपनाहरू
एउटा
नयाँ युगको पार्दुभावको लागि
कफनको टुक्रा टाउकोमा बाधेर
निरंकुशताको फलामे साङ्लो चुडाल्न
एकमुठी देशको माटो शिरमा लगाएर
नयाँ बिहानीको परिकल्पना सहित
सुख, शान्ति र समृद्धिको लागि
मानवअधिकार, स्वतन्त्रता र प्रजातन्त्रको लागि
युद्धघोष गरेर
बिजेता बनेको दिन
रैतीबाट प्रजा भएको दिन
औंसीबाट छुटकारा पाएको दिन
तर पनि
अझै पनि
बाजेको पालाको पिरोलो बोकेर
आज पनि नाति हिड्दैछ
खाली खुट्टा सडकमा भौतारिदैछ
निस्सासिदो अभावको जातोले पिस्सिदैछ
समय साल फरक छ
मान्छे फरक छ
ब्यवस्था पनि फरक छ
तर
समस्या उस्तै छ
पीडा उस्तै छ
आज राणा छैन
आज राजा पनि छैन
तर पीडा उहीँ छ
परिस्थिति उस्तै छ
त्यो डाडोमा आज पनि घाम लागेको छैन
आज पनि त्यो झुपडीमा कुनै नया स्वाद छैन
आज पनि त्यो माथिल्लो घरे दाइको
कपडा पुरानो र थोत्रो छ
आखिर कसलाई आयो परिवर्तन
कसलाई आयो शासन शत्ता
कसलाई आयो अकुत भत्ता
को खेलिरहेछ छक्कापन्जा
कसप्रती गर्ने हो आमजनले शंका
खै जनताको शासन
खै जनतालाइ रासन
खै जनतालाइ आसन
आज ढुङ्गा पकाउने बहानामा
जनतालाइ लुटेर खिचडी खादैछन
जनता कै नाममा जनता ठग्दैछ्न
के यहि हो
गणतन्त्र
के यहि हो
लोकतन्त्र
के यहि हो
प्रजातन्त्र
ए साथी
खै मेरो प्रजातन्त्र ?












