रोहिणी गाउँपालिकाको चौथो गाउँसभा शुरु

प्रकाशित मिति:

रुपन्देही “सुन्दर समृद्ध रोहिणीको आधारः कृषि, पर्यटन, उद्योग र पूर्वाधार” भन्ने मूल नारा सहित रोहिणी गाउँपालिकाको चौथो गाउँ सभा तथा हिउदे अधिवेशन शुक्रबारबाट शुरु भएको छ । चालु आर्थिक बर्षमा चलिरहेका योजनाहरु बारे जानकारी दिन तथा गाउँपालिकाले गरेका कार्यहरुको समिक्षा एवम योजनहरु परिवर्तन गर्न गाउँसभा शुरु भएको हो । शुक्रबार शुरु भएको गाउँसभामा बोल्ने अधिकांश गाउँसभा प्रतिनिधिहरुले गाउँपालिकाले निर्णय गरेका कार्यहरु कार्यान्वयनमा ल्याउन आवश्यक रहेको औल्याए । गाउँसभा सदस्यहरुले बोल्दै रोहिणी गाउँपालिका जिल्लाको अन्य गाउँपालिकाको तुलनामा राम्रो रहे पनि गरेका निर्णयहरु समयमै कार्यान्वयनमा ल्याउन जोड दिएका हुन ।

समायोजनको मारमा परेको रोहिणी गाउँपालिकामा कर्मचारीहरुको अभाव भएको हुदा सेवाग्राहीले दुख पाएको प्रतिनिधिहरुको गुनासो रहेको थियो । कार्यक्रममा बोल्दै ७ वटै वडाका अध्यक्षहरुले गाउँपालिकाले वडाहरुको सहकार्यमा काम गर्न सुझाव दिएका थिए । वडामै सञ्चालित कतिपय कामहरुबारे वडालाई जानकारी नगराईएको उनिहरुले गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै सभाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रोहिणी गाउँपालिकाको समृद्धिमा सबैको सहकार्य आवश्यक रहेको औल्याए । उनले चुनावी क्रममा प्रत्येक जनप्रतिनिधिले जनतालाई बिकासको सपना देखाएको हुदा अब त्यो सपना पुरा गर्न पनि सबै एकजुट भएर लाग्न आग्रह गरे ।

समग्र गाउँपालिकाको बिकास १÷२ बर्षमै पुरा नहुने भन्दै उनले यसको एकिकृत बिकासको लागी गुरुयोजना आवश्यक रहेको औल्याए । आगामी दिनहरुमा गाउँपालिकाले गुरुयोजना बनाई दिर्घकालीन योजनाहरु ल्याउने तयारीमा रहेको उनले जानकारी गराए । रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिषीराम अर्जेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष आविद अली पठान, २ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डे, ३ का बिर बहादुर क्षेत्री, ४ का तारानाथ यादव, ५ का घनश्याम सिंह क्षेत्री, ६ का ईन्द्रमान चौधरी, ७ का दुखनी थारु, गाउँसभा प्रतिनिधि परशुराम गुप्ता, राम रतन पासी, जयन्ती थारु लगायतले बोल्ने समय पाएका थिए । गाउँसभाको अर्को बैठक चैत्र २२ गते हुने गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रले जानकारी दिए ।