रुपन्देही-रुपन्देहीको मणिग्राममा काठमाडौं बाहिरकै सुविधासम्पन्न फिटनेस हाउस सहितको बेन्क्वेट संचालनमा आएको छ । स्थानीय चारजना युवाको १२ करोड लगानीमा तिलोत्तमा नगरपालिका–५ मणिग्राममा छहारी क्लब हाउस एण्ड बेन्क्वेट प्रा.लि.संचालनमा आएको हो ।
पर्यटन क्षेत्रमा योगदान गर्ने उद्देश्यले एक बिघा क्षेत्रफलमा एउटै छानामुनि फिटनेस, खेलकुद मैदान, लज लगायतका सेवाहरु दिने गरी नयाँ अवधारणामा क्लब हाउस स्थापना भएको प्रा.लि.का अध्यक्ष इश्वरी मरासिनीले बताए । प्रालिमा मरासिनीसंगै अष्ट्रेलियामा १० वर्ष काम गरेर फर्केका स्पोर्ट्स तथा फिटनेस थेरापिस्ट राजकुमार शर्मा, सुदन भण्डारी र शिवसागर भण्डारीको लगानी छ । क्लब हाउसमा खेलकुदमा रुचि राख्नेहरुका ब्याडमिन्टन,बास्केटबल र फुटसल कोर्ट, स्वीमिङ पूल तथा फिटनेसमा रुचि राख्नेहरुका लागि कार्डियो, एरोविक, जिम, योगा, सावना बाथको सुविधा रहेको प्रालिका अध्यक्ष मरासिनीले जानकारी दिए ।
अन्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी आउने विदेशी पर्यटक तथा छिटै संचालनमा आउन लागेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई मध्यनजर गरेर आन्तरिक तथा वाह्य पर्यटकलाई अन्तराष्ट्रियस्तरको सेवा दिने लक्ष्य सहित क्लब हाउसमा लगानी गरिएको संचालक राजकुमार शर्माले बताए । क्लब हाउसमा एक पटकमा सय जनाले डिजिटल टे«डमिल, क्रस ट्रेनर, फङक्सनल ट्रेनर, स्पीन बाइक जस्ता अत्याधुनिक उपकरणबाट फिटनेस सेवा लिन सक्ने छन् । क्लब हाउसमा युरोपियन शैलीको रेष्टुरेन्ट र बार संचालनमा आइसकको छन् भने पांच सय जना अट्ने सेमिनार हल र २० वटा वातानुकुलित कोठा ६ महिनाभित्र निर्माण भइसक्ने संचालक सुदन भण्डारीले बताए । प्रा.लिले पर्याप्त गाडी पार्किङका लागि पांच कठ्ठा जग्गा व्यवस्थापन गरेको छ । क्लब हाउसमा हाल २० जनाले प्रत्यक्ष रोजगारी पाइसकेका र पूर्ण क्षमतामा संचालनमा आउंदा कम्तीमा ५० जनाले रोजगारी पाउने प्रा.लिले जनाएको छ । क्लबले फिटनेस र खेलकुदको सेवा लिने ग्राहकलाई वार्षिक ३० हजार रुपैयां शुल्क तोकेको छ । प्रालिले वार्षिकरुपमा आर्जन गर्ने मुनाफाको प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरेको संचालक शिवसागर भण्डारीले बताए ।












