तिलोत्तमा-नेकपा माक्र्सवादीका केन्द्रिय अध्यक्ष अम्बिका प्रसाद थैवले तिलोत्तमा नगरपालिकाले बर्षो देखि जोतभोग र बसोवास गर्दै आएका सुकुम्बासीहरुका घर बिना सूचना भत्काइदिने र उनिहरुलाई त्यहाँबाट बिस्थापीत गर्न खोजेको भन्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन् ।
सर्वहारा सुकुम्बासी मोर्चा नेपालद्धारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बिपन्न,गरीब तथा सुकुम्बासीहरुमाथिको ज्यादती नरोकिए आफुहरु हतियार उठाउन समेत पछि नपर्ने चेतावनी दिए ।तिलोत्तमा नगरपालीका वडा नं ७ केउलानी स्थित सुकुम्बासी बस्तीमा नगरपालिकाले जंगली व्यवहार गरेको भन्दै उनले त्यस्तो कार्य नरोकिए आफुहरु हतियार उठाउन समेत पछि नपर्ने चेतावनी दिए ।
सुकुम्बासी,गरीव र बिपन्न परिवारको बिचल्ली बनाउने कार्य आफ्नो पार्टीलाई सह्यै नहुने भन्दै उनले भने–‘सरकारले हामिलाई हतियार उठाउन बाध्य नपारोस,उनिहरुको अधिकारकालागि हामि हतियार उठाउन समेत पछि पर्दैनौ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनु पर्छ ।’बर्तमान सरकारबाट मुलुक समृद्ध हुन नसक्ने भन्दै उनले सरकारले समृद्धिको नारा त लगाएको छ तर समृद्धि कसरी हाशील गर्ने भन्ने नीति र कार्यक्रम नभएको दाबी गरे ।मुलुकले धान्न नसक्नेगरी धरेै प्रदेश बनाउन नहुने भन्दै उनले आफ्नो पार्टी जलाधारको आधारमा तिन प्रदेशको पक्षमा रहेको बताए ।गण्डकी,कोसी र कर्णाली गरी तिन प्रदेश मात्रै आफ्नो पार्टीको अवधारणा रहेको बताउदै अध्यक्ष थैवले सो अवधारणा आफुहरुले राष्ट्रपति र सभामुख समक्ष पेश गरे पनि सुनुवाई नभएको जानकारी गराए ।












