एशिव शरण महत भीरकोट – असार १० गते चौथो नगर सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम नगर सदस्यहरुको राय,सल्लाहा र सुझाव वमोजिम परिमार्जन गरी स्वीकृत गर्ने निर्णय गरिएको छ । तमू समाजको भवनमा आज बसेको नगर सभाले उक्त नीति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा छुटेका केही कार्यक्रमहरु समावेश गर्ने गरी नगर प्रमुख छायाराम खनालले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पारित गर्नु भएको हो ।
आज वसेको नगर सभाले भीरकोट नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ माथि छलफल गरी पारित गरेको छ । विधायन समितिका संयोजक एवम् वडा न १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र केसीले भीरकोट नगरपालिका क्षेत्रभित्र प्राकृतिक तथा मानविय कारणवाट हुने विपद्वाट सर्वसाधारणको जीउज्यान र सार्वजनिक, नीजि तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवम् साँस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्नको लागी विपद् जोखिम न्यूनीकरण व्यवस्थपनका सवै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा कार्यान्वयनका लागी विधेयक प्रस्तुत गरी सभाले पारित गरेको वताउनु भयो ।
नगर सभामा भीरकोट नगर विपद् व्यवस्थापन समिति गठन तथा काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराइएको थियो । भीरकोट नगरपालिका भित्रको विप्द व्यवस्थापनका लागी नगर प्रमुखको संयोजकत्वमा १५ सदस्य भीरकोट नगर विपद् व्यवस्थापन समिति गठन हुने , त्यसैगरी वडा स्तरीय विपद् व्यवस्थापन समितिमा वडा अध्यक्षको संयोजकत्व ७ सदस्य वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन भई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा कार्यान्वयन ल्याउने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका संयोजक केसीले वताउनु भयो । उक्त कार्यक्रम नगर प्रमुख खनालको अध्यक्षयतामा सम्पन्न भएको थियो । नेपालको संविधानको २२१ को उपधारा १ को अधिकार प्रयोग गरी भीरकोट नगरसभाले उक्क्त ऐन वनाएको हो ।












