बुटवल-बुटवलको जामे मस्जिद अगाडि बस्दै आएका १६ परिवारलाई बुटवल उपमहानगरपालिकाले तत्काल उचित ब्यवस्थापन गनुपर्र्ने राजनीतिक दलहरुले निर्णय गरेका छन् । बुटवलमा बुधबार बसेको ६ दलको बैठकले पीडित १६ घरपरिवारलाई बुटवल उपमहानगरपालिकाले तत्काल बसोबासको उचित वातावरण मिलाउनु पर्ने निर्णय गरेको हो । बुटवल उपमहानगपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्न भन्दै १६ घर परिवार बस्दै आएको टिनको छाप्रोमा डोजर लगाएर १६ परिवारका करिब सय जना नागरिकलाई घरबार बिहिन बनाएको थियो ।
घरबाबिहिन भएका पीडितहरु २१ दिनदेखि रिले अनसनमा बस्दा समेत उपमहानगरपालिकाले मानवियता समेत नदेखाएको बैठकपछि नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेयले बताए । पीडितहरुसँग उपमहागरपालिकाले वार्ता र संवाद गरी उपमहानगरपालिका भित्र नै १६ घर परिवारलाई तत्काल बसोबासको उचित ब्यवस्थापन गर्न सर्वदलिय बैंठकले माग गर्ने निर्णय गरेको सभापति पाण्डेयले बताए । उपमहानगरपालिकाले ४८ वर्षदेखि बस्दै आएको स्थानबाट १६ घरपरिवारलाई घरबारबिहिन बनाएर निन्दनिय काम गरेको भन्दै ६ दलको वैठकले भत्र्सना गरेको छ ।
नेपालको संविधानको धारा ३५, ३६, ३७ लाई बेवास्ता गरी बुटवल उपमहानगरपालिकका मेयर शिवराज सुवेदीले १६ घरधुरीलाई घरबारबिहिन बनाएकोप्रति सर्वदलिय बैठकले घोर भत्र्सना गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष थर्कबहादुर बाह्रघरे मगरको अध्यक्षतामा बसेको बैंठकमा नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेय, समाजबादी पार्टी नेपालका अशोक बर्मा , किरण गुप्ता , नयां शक्ति पार्टी नेपाल बुटवलका संयोजक बामदेव भुषाल, राष्ट्रिय जनमोर्चाका तुल्सीराम शर्मा, राष्ट्रिय जागरण परिषद नेपालका चित्र बहादुर थापा लगायतको बैठकमा सहभागिता रहेको थियो ।२०२८ सालदेखि बस्दै आएका १६ परिवारको टहरोमा बुटवल उपमहानगरपालिकाले जेठ ३० गते डोजर लगाएर भत्काएपछि १६ परिवार बिचल्लीमा परेका हुन् । उक्त परिवार बस्दै आएको जग्गा श्री ३ वडा महारानीको भएको र सार्वजनिक जग्गा संरक्षण गर्नु दायित्व स्थानीय तहको भन्दै उपमहानगरपालिकाले २१ दिन अघि छाप्रोमा डोजर चलाएको थियो । उपमहानगरपालिकाले छाप्रोमा डोजर चलाएपछि पिडितहरु रिले अनशनमा बसेका छन् । लामो समय सम्म अनसनमा बस्दा समेत उपमहानगरपालिकाले आफुहरुलाई गास बास कपासको ब्यवस्था गर्न नसकेको पिडितहरुले बताएका छन् । १५ केटाकेटी , १ गर्भवती महिला सहित सय जना नागरिक अहिले एकै ठाउँमा रिले अनशनमा बसेका छन । दिउँसोको चर्काे घाम र वर्षा याममा घरबारविहीन हुंदा बृद्धबृद्धा,बालबालिका विरामी पर्न थालेका छन् ।












