भारतीय पेन्सन क्याम्पमा बम विष्फोट गराउनेलाई कानुनी कारवाही गर्न भूपु शैनिकहरुको माग ।

प्रकाशित मिति:

संयुक्त पुर्व सैनिक कल्याणकारी महासंघ नेपालले बुटवल फूलबारीस्थित भारतीय पेन्सन क्याम्पमा बम विष्फोट गराउने व्यक्ति÷समूहलाई पत्ता लगाई कानुनी कारवाही गर्न माग गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । पेन्सन क्याम्पमा भएको बम विष्फोटको घटनाबाट त्यहां कार्यरत भारतीय दुतावासका कर्मचारीहरुले असुरक्षा महसुस गरेकाले शान्ति सुरक्षाको उचित व्यवस्था गर्न र बम विष्फोटमा संलग्नलाई पत्ता लगाई कारवाही गर्न मुख्यमन्त्रीसमक्ष माग गरिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दको अघिल्लो दिन साउन २८ गते राति पेन्सन क्याम्पमा भएको बम विष्फोटबाट पेन्सन क्याम्पको शौचालय ध्वस्त हुनुका साथै पेन्स क्याम्पको भवन नै चर्किएको छ । उक्त घटनाबाट पुर्व भारतीय सैनिक नेपालीहरु दुखित भएका र उक्त घटनाले दुई देशबीचको कुटनीतिक सम्बन्धमा समेत असर गर्ने ज्ञापनपत्रमा उल्लेख छ । उक्त पेन्सन क्याम्पबाट नारायणी पश्चिमका करिब ६० हजार पुर्व भारतीय सैनिकले पेन्सन बुझ्दै आएका छन् । गत बैशाख २९ गते पनि प्रेसर कुकर बम विष्फोट गराउने योजनाका साथ राखेपनि प्राविधिक गडबडीले पड्किन पाएको थिएन । ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री शंकर पोखरेलले उक्त घटनालाई प्रदेश सरकारले गम्भीरताका साथ लिई घटनाको छानवीन गरी विष्फोटमा संलग्नलाई पक्राउ गर्न प्रदेश प्रहरी प्रमुखलाई नै निर्देशन दिइएको स्पष्ट पारे । मुख्यमन्त्रीले बम विष्फोट आपराधिक कार्य भएको भन्दै यस्ता गतिविधिलाई कदापि छुट नदिइने बताए । मुख्यमन्त्री पोखरेलले पुर्व भारतीय सैनिक नेपालीहरुले सुविधा पाउंदै आएको पेन्सन क्याम्प बन्द नहुने स्पष्ट पार्दै ऐतिहासिक स्थलमा स्थायी पेन्सन क्याम्प राख्ने सन्दर्भमा पक्ष र विपक्षमा कुरा आएकाले आपसी संवाद र छलफलबाट सहमतिमा पुग्नुपर्ने सुझाव समेत दिए ।

संयुक्त पुर्व सैनिक कल्याणकारी महासंघ नेपालका महासचिव कुलबहादुर केसी, बुटवलका सह अध्यक्ष क्याप्टेन किसन बहादुर थापा लगायतको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । यसअघि महासंघले प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानालाई पनि ज्ञापनपत्र बुझाएको थियो ।