तिलोत्तमा द्वारा पत्रकार अधिकारीको स्मृतिमा अक्षयकोष, परिवारलाई पांच लाख राहत

प्रकाशित मिति:

बुटवल –तिलोत्तमा नगरपालिकाले सवारी दुर्घटनामा ज्यान गुमाएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । नगरपालिकाले तीनलाख रुपैयांको ‘डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको हो ।

अक्षय कोषको ब्याज आम्दानीबाट प्रत्येक वर्ष एकजना उत्कृष्ट पत्रकारलाई कम्तीमा २५ हजार राशीसहित उक्त पुरस्कार दिइने छ । यस्तै अधिकारीको परिवारलाई राहतस्वरुप पांच लाख रुपैयां तत्काल दिने निर्णय पनि नगरपालिकाले गरेको छ । नगरपालिकाले स्वर्गीय अधिकारीकी श्रीमतीलाई नगरपालिकामा योग्यता अनुसारको जागिर र एक छोरा तथा एक छोरीलाई स्नातक तहसम्म रुपन्देहीका शिक्षणसंस्थामा जुनसुकै विषयमा निःशुल्क पढाइदिने निर्णय पनि गरेको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

‘स्वर्गीय अधिकारीले पत्रकारितामा गरेको योगदान र उहांको नाम वर्षौंसम्म सम्झना गराइराख्न र स्वच्छ पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरेका हौं’–नगरप्रमुख घिमिरेले भने–‘पुरस्कारका लागि नगरपालिका,पत्रकार महासंघ रुपन्देही र अधिकारी परिवारका प्रतिनिधि रहेको छनोट समिति र कार्यविधि बनाइने छ ।’ पत्रकार अधिकारी तिलोत्तमा नगरपालिकाले आउंदो असोज दोस्रो हप्ता आयोजना गरेको लगानी सम्मेलनका विषयमा उद्योगी–व्यवसायीसंग छलफलका लागि पुर्वी नेपालमा जाने क्रममा गत शनिबार सप्तरीमा दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

श्रद्धाञ्जली सभा
पत्रकार अधिकारी निधन भएको सातौं दिनमा तिलोत्तमा नगरपालिकाले उनको निवास तिलोत्तमा ३ स्थित निवासमा श्रद्धाञ्जली सभा गरेको छ । सभामा नगरपालिकाको कार्यपालिका वैठकले पारित गरेको शोकप्रस्ताव नगरका प्रवक्ता सुरेन्द्र श्रीले पढेर सुनाएका थिए । श्रद्धाञ्जली सभामा बोल्दै नगर प्रमुख घिमिरेले स्वर्गीय पत्रकार अधिकारी दलीय घेरा भन्दा माथि उठेर मर्यादित, निष्पक्ष र सन्तुलित पत्रकारिता गर्ने अनुकरणीय पत्रकार रहेको स्मरण गरे ।

अधिकारीको निधनले रुपन्देहीको पत्रकारितामा अपूरणीय क्षति पुगेको औंल्याउंदै घिमिरेले उनका असल गुणहरुको सबैले अनुशरण गर्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । मृतक परिवारका तर्फबाट बोल्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले तिलोत्तमा नगरपालिकाले स्वर्गीय अधिकारीको सम्मानमा गरेका निर्णयहरुले परिवारलाई ठूलो राहत मिलेको बताए । दुर्घटना भवितब्य भएकाले यस विषयमा कसैले पनि प्रश्न उठाउने र विवाद वा राजनीति नगर्न उनले आग्रह गरे ।