रुपन्देही उद्योग संघको २१ औं अधिवेशन असोज ३० हुने

प्रकाशित मिति:

रुपन्देही-रुपन्देही उद्योग संघको ४१ औं बार्षिक साधारणसभा तथा २१ औं अधिवेशन आगामी असोज ३० गते विहीवार हुने भएको छ । संघको भदौं महिनाको नियमित बैठकले अधिवेशनको मिति तय गरेको हो । संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले अधिवेशन अन्तरगत नया कार्यसमिति चयनका लागि हुने निर्वाचन सम्पन्न गर्न संघका कानुनी सल्लाहाकार यमलाल खनाल प्रमुख निर्वाचन आयुक्त रहने गरि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

समितिमा निर्वाचन निर्देशिका अनुसार नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी र नेपाल वार एशोसीयसन उच्च अदालत बुटवल इजलासका अध्यक्ष गोमबहादुर खत्री सदस्य रहनु भएको छ । अधिवेशनलाई व्यवस्थित तथा भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको संघका महासचिव कृष्ण प्रसाद पराजुलीले बताउनु भयो । बैठकले अधिवेशनमा खाद्य व्यवस्थापन उपसमिति संयोजकमा सरला भण्डारी, किटव्याग व्यवस्थापन उपसमिति संयोजकमा घनश्याम घिमिरे तथा मञ्च व्यवस्थापन उपसमिति संयोजकमा मोहनीलाल रिजाललाई चयन गरेको छ ।

अधिवेशन बुटवल उपमहानगरपालिका ५ स्थित कान्ति माविको सभाहलमा गर्ने गरि स्थान तय भएको संघले जनाएको छ । अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, एशोसियट सदस्यसहित ३२ सदस्यीय नया समिति चयन गर्ने छ । संघमा करिव १२ सय उद्योग प्रतिष्ठानहरु सदस्य रहेका छन् ।
सोही वैठकले सडक दुर्घटनामा परि मृत्यु भएका संघद्वारा उत्कृष्ठ औद्योगिक पत्रकारिता पुरस्कार–२०५२ द्वारा पुरस्कृत सञ्चारकर्मी स्व.डायलसन अधिकारीको परिवारलाई राहात स्वरुप नगद रु. ५१,०००।– दिने निर्णय गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।