भैरहवा-सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा युनिसेफ सिद्धार्थनगर फिल्ड अफिसको आर्थिक तथा प्राविधिक सहयोगमा भैरहवामा एनवास एपलीकेसन प्रयोगसम्बन्धी तीन दिने तालिम बिहीबार भैरहवामा सम्पन्न भएको छ । तालिममा एनवास एपलीकेसनको प्रयोग विधि, सूचना संकलन गर्ने तरिका, वास विधि के हो ?, काम कसरी गर्ने लगायतका विषयमा युनिसेफका प्रसन्न पाण्डेले सहजीकरण गरेका थिए । स्वस्थ पिउने पानीको प्रयोग र फोहोर व्यवस्थापनबारे एनवास एपलीकेसमार्फत् सूचना संकलन गर्न यसबारे तालिमको आयोजना गरिएको नगरपालिका समाजिक विकास शाखा प्रमुख यादवप्रसाद सापकोटाले जानकारी दिए ।
तालिममा सहभागी २९ जना विद्यार्थीले अब नगरको पानी स्वच्छता र फोहोर व्यवस्थापनबारे वस्तुस्थितिको तथ्यांक संकलन गर्ने छन् । उक्त तथ्यांकका आधारमा नगरले योजना बनाएर अघि बढ्ने छ । तालिम समापनमा बोल्दै नगर प्रमुख हरिप्रसाद अधिकारीले नगरबासीले पिउने पानी स्वच्छ होस् र नगर सरसफाईयुक्त राख्न सहयोग पुगोस् भनेर आफूहरुले युनिसेफसँगको सहकार्यमा एनवास एपिलीकेसनको प्रयोग गर्न पहिलोचरणमा तालिमको आयोजना गरिएको जनाए । उनले नागरिक सचेत भए नगरलाई स्वच्छ राख्न सकिने जनाउँदै हरेक नागरिकलाई किटाणुरहित पानीको प्रयोग गराउने उद्देश्यले नगरले एनवास एपलीकेसन प्रयोगमा ल्याउन लागेको बताए ।
वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेलले नगरबासीलाई स्वच्छ पानी पिउने वातावरण सिर्जना गर्न र फोहोर व्यवस्थापन गर्न एपलीकेसन बहुउपयोगी हुने धारणा राखे । उनले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गर्दै जनप्रतिनिधिहरुको तर्फबाट तथ्यांक संकलनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । युनिसेफकी सिद्धार्थनगर फिल्ड प्रमुख रिती शर्माले युवालाई प्रविधिको प्रयोगमा ल्याएर नगरलाई स्वच्छ सफा राख्न र शुद्ध पिउने पानीको व्यवस्था मिलाउन नगरपालिकाले चालेको कदम सहारनीय रहेको जनाइन् । वास प्लान संचालनको तयारी गर्ने सिद्धार्थनगर प्रदेश पाँचको पहिलो नगरपालिका भएको बताउँदै उनले यहाँ यो प्लान सफल भए अन्य स्थानीय तहले पनि सिक्ने जनाइन् । उनले तथ्यांक संकलन प्लान सफल हुने आधार भएकाले सत्य र तथ्य तथ्यांक संकलन गर्न स्थानीय र जनप्रतिनिधिको सहयोग अपरिहार्य रहेको बताइन् ।कार्यक्रममा वडानम्बर २ का अध्यक्ष दीपककुमार थापा, पाँचका अध्यक्ष चेतबहादुर क्षेत्री, ११ का अध्यक्ष दिलीपकुमार यादव, नगरपालिकाका बरिष्ठ इन्जिनियर यमलाल पाण्डेलगायको आतिथ्यता रहेको थियो । तालिममा सहभागीहरुले एपलीकेसनको माध्यमबाट पनि धेरै कुरा गर्न सकिने रहेछ भन्ने कुरा आफूहरुले सिकेको बताए । उनीहरुले तथ्यांक संकलनमा सबैको सहयोग चाहिने र सहयोग उपलब्ध गराउन नगरपालिकाले भूमिका खेल्नु पर्ने जनाए । कार्यक्रम सामाजिक विकास अधिकृत सापकोटोको संचालनमा भएको थियो ।










