कालिगण्डकीको राम्दीपुल जीणोद्धार गर्न प्रदेश सांसद भागवत प्रकाश मल्लको माग

प्रकाशित मिति:

पोखरा \ सिद्धार्थ राजमार्गको रामदीस्थित कालिगण्डकीको पुल जीर्ण भएको वर्षौ भइसक्यो । १० टन भन्दा बढी भार बोक्ने गाडी उक्त पुलबाट वारपार गर्न पाउँदैनन् । त्यो पनि एकतर्फी । अहिले स्थानीय प्रशासनले ६ चक्के भन्दा ठूला ट्रक आवतजावतका रोक लगाएको छ ।

स्याङ्जा, पर्वतका लागि तराईबाट सामान आउने छोटो बाटोको पुल नै जीर्ण हुँदा ती जिल्लाका बासिन्दा महंगीका मारमा परेका छन् । ५ दर्शकअघि बनेको उक्त पुल तत्काल मर्मत गरी ढुक्कसँग आवागमनको व्यवस्था गर्न सांसद भागवतप्रकाश मल्लले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा विशेष समय लिएर सांसद मल्लले भने,‘मैले यसअघि पनि प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराएको थिएँ, तर पुल जिर्णोद्धारमा कसैको ध्यान गएको देखिएन ।’ प्रदेश सरकारले केन्द्रमा रिपोर्टिङ गर्ने तर काम नहुने गरेको पाइएकाले यस्ता विषयमा संवेदनशील हुन उनले आग्रह समेत गरे ।

बुटवल भैरहवाबाट सामान ढुवानी गर्दा सस्तो पर्नेमा यो पुलमा ठूला गाडी रोक लगाइपछि चितवन हुँदै सामान ल्याउँदा स्याङ्जा र पर्वतका उपभोक्ताले महंगी खेप्नु परेको उनको भनाइ थियो ।

सिद्धार्थ राजमार्ग आसपासमा ससना उद्योगको सम्भावना रहे पनि पुलकै कारण कच्चा पदार्थ ल्याउन कठिनाइ भएको छ । पुलवाहेक राजमार्गका धेरै ठाउँमा खाल्डाखुल्डी अत्यधिक भएकाले मर्मतका लागि सांसद मल्लले सरकारको ध्यानाकर्षण गराएका छन् ।