काठमाडौँ/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूलाई तथ्य र आधार बिना राजनीतिक पूर्वाग्रहका आधारमा फसाउने षणयन्त्र भएको बताएका छन् । जिल्ला अदालत दाङबाट म्याद थप गरिएपछि बाहिरिने क्रममा पत्रकारहरुसँग विश्वकर्माले यस्तो कुरा बताएका हुन् ।
‘सरकारी पक्षले बहसमा केही भन्दैन, राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा फसाउने नियत नै देखिन्छ’, विश्वकर्माले भने, ‘मलाई हतकडी लाग्दा हिजो जनयुद्धका मेरा सहकर्मीहरु प्रतिक्रियावादी, प्रतिक्रान्तीकारी, राष्ट्रघाती भएका छन् । क्रान्तिपछि कोही प्रतिक्रियाबादीहरु हुन्छन्, कोही प्रतिक्रान्तिकारी हुन्छन् र राष्ट्रघाती पनि हुन्छन्, यो स्वभाविक हो ।’ उनले कुनै समयसँगै संर्घष गरेकाहरु दलाल सत्ताको ठेकेदार भएको आरोप लगाएकाछन् ।
नेता विश्वकर्माले गृहमन्त्री तथा आफ्ना पूर्वसमकक्षी रामबहादुर थापा बादलप्रति आक्रोश पोख्दै यसको मूल्य तिर्न नसक्ने गरि चुकाएर छाड्ने चेतावनी पनि दिए ।
१० वर्षे जनयुद्धको संघर्षपछि बादलहरु दलाल सत्ताको ठेकेदार भएर बसेका छन्’, उनले भने, ‘उनीहरु झुटा मुद्दाको खेती गरिरहेका छन् । यसको मूल्य नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीसहितले तिर्न नसक्ने गरी चुकाउँछौँ ।’












