नेकपामा तल्ला तहमा एकताको लागि मापदण्ड बनाउनै सकस , पार लगाउलान् अध्यक्ष द्वयले ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रको एकिकरण सम्पन्न भए पनि तल्ला तहको एकतालाई टुंगाउन फलामको चिउरा चपाउनु जस्तै बन्दै गएको छ । बुधबार र बिहीबार दुई दिन सम्मको सचिवालयको प्रयासले पार नलागे पछि अब बाँकी जिम्मा अध्यक्ष द्धयमा पुगेको छ । अब अध्यक्षहरुले मापदण्ड बनाएर सचिबालयलाई दिनेछन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्ष र आवश्यकताका आधारमा अन्य पार्टी पंतिमा पनि छलफल गरिनेछ ।
यसअघि तय भएका मापदण्डका आधारमा नेतृत्व बाँडफाँट टुङ्ग्याउन नसकेपछि बिहीबार बस्ने सचिवालय बैठकले नयाँ मापदण्ड बनाएर एकीकरण प्रक्रिया टुंग्याउने बताइएको थियो । तर सचिवालय बैठकले यसको जिम्मा अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ ।
असअघि भदौ पहिलो साता बसेको सचिवालयको बैठकले कसकसलाई जिम्मेवारी नदिने भनेर मापदण्ड तयार पाएको भए पनि कसलाई नेतृत्व दिने भन्ने विधि तय नभएकाले अन्यौलता बढेको नेताहरू बताउँछन् । तल्ला तहहरुमा केन्द्रमा भन्दा अझै बढि गुट उपगुट कायम छ । तत्कालिन एमालेका केपी ओली, माधब नेपाल, झलनाथ खनालको मात्र हैन पछिल्लो बामदेव गौतम, धनश्याम भुसाल लगायतको फरक फरक गुट छ । त्यस्तै तत्कालिन माओवादी केन्द्रमा कुनै नेतालाई केन्द्रमा राखेर गुट नदेखिए पनि तत्कालिन समयमा बिभिन्न शक्तिहरुको एकिकरणबाट माओवादी केन्द्र बनेको अहिले तल्ला तहका ती समूह कुनै न कुनै अवस्थामा जागेको बिश्लेषण हुन थालेको छ ।












