दश बिषयगत समितिमा दश उमेद्वारी ,शक्तिशाली सार्वजनिक लेखा समितिमा काँग्रेसका शाह निश्चित
काठमाण्डौ असोज, ४ । प्रतिनिधिसभाका दश वटा विषयगत समितिहरुको सभापतिको निर्वाचनका लागि दशै जनाकै उमेद्वारी परेको छ । आज (बिहीबारंं) संघीय संसद सचिवालयमा प्रतिनिधिसभाका दश वटा विषयगत समितिका सभापतिका लागि बिभिन्न दश जना सांसदले उमेद्वारी दर्ता गराएका हुन् ।
१० मध्ये ८ वटा विषयगत समितिको सभापतिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुको उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा सत्तारुढ दल संघीय समाजवादी फोरम, नेपालका विमलप्रसाद श्रीवास्तवले उमेदवारी दिएका छन् । शक्तिशाली मानिएको सार्वजनिक लेखा समितिको सभापतिमा भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले उमेद्वारी दिएका छन् भने महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेलको सभापतिमा उमेद्वारी परेको छ ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिमा शशि श्रेष्ठ, अर्थ समितिमा कृष्णप्रसाद दाहाल, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती र विकास तथा प्रविधि समितिमा कल्याणी कुमारी खड्काको उमेदवारी परेको छ । सबै विषयगत समितिको सभापतिमा १–१ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वाचित हुनेछन् ।
भोलि सबै समितिको ११ बजे बस्ने बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको छ ।












