पूर्णिमा कुँवर भैरहवा – मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न खोलिएको माइती नेपाल विगत २७ वर्ष देखि यसै काममा संलग्न रहेको छ । मंगलबार भैरहवामा आयोजित जिल्ला शाखाको पत्रकार सम्मेलनमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रुपन्देही शाखाकी संयोजक माया क्षेत्रीले विभिन्न १८ जिल्लाबाट मानव बेचबिखन विरुद्ध काम गर्दै आएको बताइन । कार्यक्रममा बोल्दै उनले प्राय जसो घरेलु हिंसामा परेका महिलाहरु नै बेचबिखनको सिकार बन्न पुगेको बताइन । उनका अनुसार अशिक्षित तथा ग्रामिण भेगका चेलिहरु दलालको प्रलोभनमा छिट्टै पर्ने भएकोले यसको लागि हरेक वर्ष विद्यालयहरु तथा विभिन्न संस्थामा जनचेतना मुलक कार्यक्रम माइती नेपालले गर्दै आएको छ । पछिल्ला वर्षहरुमा विभिन्न फरक बाहानामा दलालले नया तरिकाले चेलीहरुलाई बेच्न लैजाने गरेको तथ्यहरु भेटिएको छ । यस्तै फोन तथा सामाजिक सञ्जाल र झुटो प्रेमबाट चेलिहरु भारतीय वेश्यालयमा तथा तेस्रो मुलुक पुग्ने गरेका घटना बढ्दा छन् । मानव बेचबिखन समाजकै कलंक भएको भन्दै उनले भनिन ‘ तत्कालीन समयमा यस समस्यालाई सामान्य अवस्था मान्ने हो भने भविष्यमा यो समस्या धेरै जटिल हुदै जाने छ ।, ‘अझ अहिले सक्रिय रुपमा रहेको सामाजिक सञ्जालले बेचबिखनमा फस्नेहरु बढिरहेका छन् ।’
सरकारी निकायले सिमा नाकामा कडाइ गर्न नसक्दा पनि यि र यस्ता समस्याले ठूलो रुप लिन थालेको उनको भनाई छ । माइती नेपाल रुपन्देही शाखाले ६ वर्षमा हजारौ चेलीको उद्धार गरिसकेको भन्दै क्षेत्रिले रुपन्देहीमा यसै सम्बन्धि काम गर्ने ७ वटा संस्था रहेको पनि बताइन । उनका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा सिमानाकाबाट २ सय २९ जना र भारतका विभिन्न ठाउँबाट ३५ जना चेलिको उद्धार गरेको थियो । यस्तै आ. व. ०७३÷७४ मा बेचिएका चेलीको संख्या बढेर सिमानाकाबाट उद्धार गरिएका २ सय ५०जना र भारतका विभिन्न ठाउँबाट ९ जनाको उद्धार गरेको संयोजक क्षेत्रिले बताइन । यसैगरि आ. व.०७४÷७५ मा सिमा नाकाबाट २ सय ६२ र भारतीय स्थानबाट १० जना महिलालाई बेचबिखनको जोखिमबाट बचाएको थियो भने ०७५÷७६मा सिमानाकाबाट उद्धार गरिएका महिला २ सय ५३ जना पुगे र भारतका विभिन्न स्थानहरुबाट ५० जना चेलीको उद्धार गरिएको थियो । सोही वर्ष माइती नेपालले बेचबिखन विरुद्ध २ वटा मुद्धा समेत दर्ता गरेको थियो । घरेलु हिंसा खेपिरहेका महिलाको सर्मथनमा ५ वटा निवेदन समेत पेश गरेको यस संस्थाले सिमा नाकामा ८ हजार ४ सय ७३ जनालाई र जिल्ला प्रशासनबाट ७ सय २८ जनालाई परामर्श समेत दिएको थियो । त्यसै वर्ष खोजतलासको लागि ७८ जनाको निवेदन पेश गरिएकोमा ४३ जनालाई सकुशल फेला पारेको थियो । यस्तै आ. व. ०७६÷७७ मंसिरसम्ममा ८१ जना महिला सिमाबाट र भारतका विभिन्न स्थानहरुबाट ७ जना उद्धार गरेको छ । २ वटा मुद्धा दर्ता गरिएको छ भने ३४ जनाको खोजतलासिको लागि निवेदन पेश गरिएको छ । ३ हजार ४ सय ८६ जनालाई सिमा र ४ सय६१ लाई जिल्ला प्रशासनबाट परामर्श समेत दिइएको क्षेत्रिले जानकारी गराईन । सोही कार्यक्रममा उनले वर्षभरीमा रुपन्देहीमा गरेका कामहरुको विवरण समेत जानकारी गराएकी थिइन । माइती नेपालले गर्ने गरेको कार्यक्रमहरुबाट वर्षमा प्रत्यक्ष ६ हजार र अप्रत्यक्ष रुपमा २० हजार चेलीहरु लाभान्वित भएको समेत जनाइन । यस संस्थाले विभिन्न सुराकी, सुरक्षा निकाय तथा विभिन्न संस्थाको सहयोगमा बेचिएका र बेचिन लागेका चेलिको उद्धार गर्ने काम गर्छ भने आवश्यक अनुसार मुद्धा दर्ता समेत गर्दै आइरहेको छ ।












