जनगणनालाई प्रभावकारी बनाउनुपर्छ

प्रकाशित मिति:

रबिन्द्र प्रताप गुप्ता  भैरहवा, २२ पुस । राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउनुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । उनीहरुले विगतमा भएका जनगणनाले सही तथ्यांक दिन नसकेको गुनासो रहेकाले यस पटकको जनगणनाले सही तथ्यांक दिने गरी अगाडी बढ्नुपर्ने बताए ।

राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा तंथ्याक कार्यालय, कपिलवस्तुले मंगलबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अबको जनगणना वैज्ञानिक हुनुपर्ने बताए । उनले विगतका जनगणना वैज्ञानिक हुन नसकेको र कहींकतै खाडल भएको भन्ने कुरा आएको बताए । जनगणनाले सही तथ्यांक दिन नसके विकासका हरेक क्षेत्रमा त्यसले प्रभाव पार्ने भएकोले नेपाली समाजको ऐना देखिने गरी अगाडी बढे मात्र मात्र गणना सफल हुने बताए । “अहिलेसम्मको जनगणनाले विश्वास आर्जन गर्न सकेको छैन् भन्ने कुरा आम जनसमुदायबाट आएको छ, उनले भने ।”

त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले प्रश्नावली तथा गणनाको शैलीमा सुधार हुने अपेक्षा गरे । उनले सबैले बुझ्ने गरी सरल भाषामा आगामी कार्यक्रमहरुमा प्रश्नावली जनप्रतिनिधिसम्म पु¥याउनुपर्ने बताए । प्रजिअ पन्थले स्थानीय तहले गरेको गणना केन्द्रीय तथ्यांक विभागलाई पनि उपयोगी हुन सक्ने बताए । जनगणनालाई गम्भिरताका साथ अगाडी बढाउनुपर्ने भन्दै उनले यसमा सबैको प्रतिनिधित्व हुनुपर्ने बताए ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले जनगणनामा स्थानीय तहको भुमिकाबारे प्रष्ट हुनुपर्ने बताए । मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द वनियाले जनगणनामा नागरिकताबारे पनि उल्लेख गर्नुपर्ने बताए । कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले जनगणनाले सबैलाई समेट्नुपर्ने बताए ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले दुईतिर एउटै व्यक्तिको गणना हुन सक्ने समस्यालाई मध्यनजर गर्दै यस्तो परिस्थितिको सिर्जना नहोस् भन्नेतर्फ लाग्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हितराज पन्थीले गणनालाई वास्तविक र यथार्थपरक बनाउन गणकको भुमिका महत्वपूर्ण हुने बताए । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक यम बहादुर कुंवरले गणकको तालिममा विशेष ध्यान दिनुपर्ने बताए ।

तंथ्याक कार्यालय कपिलवस्तुका गणक गणेश प्रसाद मरासिनीको स्वागत तथा विष्णु प्रसाद गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा तंथ्याक कार्यालय कपिलवस्तुका प्रमुख तथ्यांक अधिकृत नन्दलाल कुर्मीले राष्ट्रिय जनगणना सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

“मेरो गणना, मेरो सहभागिता” भन्ने नाराका साथ राष्ट्रिय जनगणना सञ्चालन हुँदैछ । यो नेपालको १२ औं राष्ट्रिय जनगणना हो । नेपालमा लगभग १०÷१० वर्षको अन्तरालमा जनगणना सञ्चालन हुँदै आएको छ ।