बुटवल/ बुटवल–११ स्थित प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष नारायण ज्ञवालीले शहरी क्षेत्रमा घर भएपनि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) नभएका जनतालाई सहजरुपमा विद्युत आपुर्ति गरी सेवा दिने काममा सामुदायिक विद्युत सहकारी संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । देशलाई पूर्ण विद्युतिकरण गर्न विद्युत प्राधिकरणले समेत सामुदायिक विद्युत सहकारी संस्थाहरुसंग सहकार्य गरेको बताउंदै अध्यक्ष ज्ञवालीले अब नेपाल विद्युत उत्पादनमा आत्मनिर्भर हुने अवस्थामा पुगेकाले एलपीजी ग्यासका उपभोक्ताहरु क्रमशः विद्युतीय (इन्डक्स) चुल्हो प्रयोगतर्फ जानुपर्ने सुझाव दिए ।
ग्यास भन्दा विद्युतीय चुल्हो झण्डै आधा सस्तो हुने हुने भएकाले मुलुकबाट हरेक वर्ष बाहिरिने ४८ अर्ब रुपैयां जोगिने अध्यक्ष ज्ञवालीले बताए । विद्युतीय चुल्होको प्रयोग बढाउन र सुरक्षित बनाउन सरकारले उपभोक्तालाई विश्वासमा लिनुपर्ने ज्ञवालीले सुझाव दिए । सरकारले विद्युतको खपत बढाउने र खपत अनुसार महशुल दर तय गरेको उनले जानकारी गराए । कार्यक्रममा प्रतिवेदन पेश गर्दै प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाका अध्यक्ष जितबहादुर मल्लले संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्म एक हजार दुई सय ७२ जना उपभोक्तालाई मिटरबक्स जडान गरी ३२ लाख १६ हजार रुपैयां शेयर रकम भएको जानकारी गराए । प्रति शेयर रकम एक हजार ६ सय रुपैयां कायम गरिएको र सडक वत्तीसहित वैज्ञानिक तरिकाले विद्युत लाइन विस्तार गरिएको अध्यक्ष मल्लले जानकारी गराए ।
संस्थाले आगामी दिनमा विद्युतीय धुवारहित चुल्हो प्रयोगमा ल्याउन कार्यक्रम अघि बढाउने र संस्थाको भवनको छतमा सभा हल बनाउने बताए । सहकारी संस्थाले अपि पावर कम्पनीको पांच लाख २५ हजार र अरुण काबेली जलविद्युत कम्पनीको ७ लाख ३१ हजार रुपैयांको शेयर खरिद गरेको जानकारी गराए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष नरेशकुमार पुनले चार करोड २४ लाख ५३ हजार रुपैया बराबरको आय–व्यय प्रस्तुत गरे । कार्यक्रममा वडा नंं ११का वडा अध्यक्ष रामचन्द्र क्षेत्री,नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र बुटवलका सन्जय मिश्र,सामुदायिक विदुत उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रीय सचिव यम पछाई,वार्ड सदस्य माया दर्नाल,संस्थाका पुर्व अध्यक्ष कुसुम मल्ल,प्रगतिनगर वस्ती विकास समन्वय समितिका संयोजक मनोज राना,कृष्ण जीसी,जमुना केसी शालिक्राम पौडेल लगायतले आआफ्ना भनाई राखेका थिए । साधारणसभामा संस्थाका शेयर सदस्य मध्येका जेष्ठ नागरिक,एकल महिला,उत्कृष्ट कर्मचारी र एसईईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको संस्थाका सचिव राजेश बुढाथोकीले जानकारी दिए ।












