चैत १८, बुटवल । नेकपा रुपन्देहीले देश कोरोना भाइरसद्धारा गम्भीर भएको अवस्थामा वली सरकारले जनताको न्युनतम स्वास्थ्य उपचार र दैनिक जनजीविकाप्रति चासो नदिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेकपा जिल्ला इन्चार्ज सङ्गमले मङ्गलबार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना रोग र लकडाउनका कारण जिल्लाका श्रमजीवी जनताको जीवन दननीय हुँदै गएको र जनताले न्युनतम स्वास्थ्य उपचार नपाएको बताएका छन् ।
देश सङ्कटमा रहेका बेला वली सरकार गम्भीर नभएको बरु उल्टै जनताका लागी आएको मेडिकल सामग्रीहरुको खरिद तथा वितरणमा गम्भीर भ्रष्टाचार गरेको भन्दै कडा आपत्ति जनाएको हो । नेकपा रुपन्देहीले विरामीहरुले उपचार नपाएर छटपटिनु परेको र केही निजी मेडिकलहरुले विरामीलाई फर्काएर न्युनतम मानवीय संवेदना गुमाएको समेत बताएको छ । विज्ञप्तीमा सङ्कटको बेला केही कालाबजारीयाहरुले क्रृत्रिम अभाव देखाएर महङ्गी बढाई जनतालाई दुःख दिएको भन्दै उनीहरुलाई कारवाही गर्ने समेत बताएको छ । इन्चार्ज सङ्गमले महामारी फैलिएको कोरोना भाइरसबाट सचेत हुन र देशलाई सबैप्रकारको सङ्कटबाट मुक्त गर्नका लागी जिल्लाबासी जनसमुदायलाई जागरुक हुन अपील समेत गरेका छन् ।












