सोम दियाली, सर्लाही चैत्र २१, शुक्रवार । लक डाउनका कारण समस्यामा परेका नागरीकको सहायताका लागि सर्लाहीको लालबन्दी नगरपालिकाले स्थापना गरेको “विपन्न सहायता कोष”मा झण्डै साँढे ११ लाख संकलन भएको छ । कोष स्थापनाको चौथो दिन विहिवार नवजिवन भुतपूर्व विद्यालय समाज नेत्रगंज जुटपानीले १ लाख १ हजार ५ सय नगद सहयोग गरेसँगै सहायता कोषको रकम ११ लाख ४२ हजार ७ सय ५६ रुपैया भएको हो । कोषमा रकम थप हुँदै गएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाले बताउनु भयो । उहाँले कोषमा जम्मा भएको रकमबाट नगर भित्रका विपन्न तथा दलित समुदाय जो लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्न बञ्चित भएका छन्, उनीहरुको लागि खाद्यन्न सामाग्री वितरणमा खर्च गरिने बताउनु भयो । कोषमा विहिवार मात्रै नवजिवन भुतपूर्व विद्यालय समाज नेत्रगंजले अहिले सम्म सबैभन्दा बढि १ लाख १ हजार ५ सय सहयोग गरेको नगरपालिकाले जनाएको छ । त्यस्तै सहायता कोषमा विहिवारै सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनले ३० हजार, लालबन्दी ९ कि सर्मिला थापाले २१ हजार, महिला साना किसान कृषि सहकारी सस्था परवानिपुरले १५ हजार, नवलपुरका राजेन्द्र थपलियाले १० हजार, लालबन्दीकै दिनेश जंग थापाले ५ हजार ५ सय, वडा नम्बर ७ का वडा सदस्य क्षितिज श्रेष्ठले ५ हजार, न्यू ईरा ईग्लिस बोर्डिङ्ग स्कुल लालबन्दीले ५ हजार, प्राइमरोज एकेडेमी लालबन्दीले ५ हजार महोत्तरीका रोशन कुमार मण्डलले १ हजार सहयोग गर्नु भएको नगरपालिकाका कर्मचारी कम्प्युटर अपरेटर कोमलहरी गौतमले जानकारी दिनु भयो । विपतका वेला एक भएर अघि बढ्नु पर्ने भन्दै नगरपालिकाले स्थापना गरेको सहायता कोषमा आफुले सकेको सहयोग गर्न नगरप्रमुख मान बहादुर खड्काले नगरवासीमा आग्रह गर्नु भएको छ ।












