उठेन कोरोना संक्रमितको शव

प्रकाशित मिति:

बुटवल, जेठ ९ कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका गुल्मीका शिक्षकको शव दोस्रो दिन पनि उठाइएको छैन। बुटवलको क्रिमसन अस्पतालमा उपचारका क्रममा बिहीबार गुल्मीका युवकको मृत्यु भएको थियो। सुरक्षा निकाय र अस्पतालबीच कसले शव निकाल्ने भन्ने विषयमा सहमति नहुँदा अन्त्यष्टि हुन सकेको छैन। उनको शव अस्पतालको आईसीयूमै रहेको छ। आईसीयूबाट सुरक्षाकर्मीले बाहिर निकाल्नु पर्ने अस्पताल प्रशासनको अडान छ भने अस्पतालले नै निकाल्नु पर्ने सुरक्षाकर्मीको अडान छ। जसले गर्दा दोस्रो दिन पनि शव आईसीयूबाट निकालिएको छैन।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ मगरघाटमा शव जलाउने स्थानीय प्रशासनले तयारी गरेको छ। सबैे तयारी गरिसकिएको र शव निकाल्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए। शव व्यवस्थापन कार्यविधिमा स्पष्ट नभएकाले शव निकाल्न समस्या भएको उनको भनाइ छ।गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षक बिरामी भएपनि जेठ १ गते अस्पताल भर्ना भएका थिए। उनलाई कोरोना संक्रमण भएको जेठ ५ मा पुष्टि भएको थियो। उपचारका क्रममै बिहीबार मृत्यु भएको थियो।यस अघि पनि कोरोनाबाट मृत्यु भएका दुई जनाको शव व्यवस्थापनमा समस्या भएको थियो।