भैरहवा । नेपालमा बन्दाबन्दी (लकडाउन) भएको ७० दिन पुरा भएको छ । अर्थात ७० दिन देखी नेपालका अधिकांश उद्योग मात्र हैन विकास निर्माणका कार्य पनि ठप्प रहेका छन् । यस्तो अवश्थामा पनि रुपन्देहीको रोहिणी गाउँपालिकामा बिभिन्न बिकास निर्माण कार्यहरु सुचारु रहेका छन् । रोहिणी गाउँपालिकामा पक्कि बाटो निर्माण देखी, सिंचाई परियोजना र अन्य विकास निर्माण कार्यहरुले निरन्तरता पाएका छन् । बन्दाबन्दीको समयमा अधिकांश कार्यालयका कर्मचारीहरु घर बसी रहेको अवश्थामा रोहिणी गाउँपालिकाका कर्मचारीहरु अहिले स्थलगत कार्यमा ब्यस्त छन् । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको नेतृत्वमा गाउँपालिकाका कर्मचारी मात्र हैन् जनप्रतिनिधि पनि उत्तिकै सक्रिय रहेका छन् । बन्दाबन्दीको समयमा ठूलो मानिएका योजनाहरुलाई सम्पन्न गर्ने मनसायमा गाउँपालिका रहेको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए ।
उनले अहिले पक्की बाटो, पिसिसी बाटो लगायतका कामहरुलाई निरन्तरता दिईएको बताए । यो आर्थिक बर्षमा कम्तिमा ५० प्रतिशत पूंजिगत बजेट खर्च गर्ने योजना रहेको उनले बताए ।अहिले रोहिणी गाउँपालिकामा दर्जन बढी पिसिसि सडक, ६ पक्की सडक, र सिंचाई योजनका काम धमाधम भई रहेका छ । यस अघि नै उपभोक्ता समिति गठन भई लागत अनुमान समेत भई सकेको योजनाहरु र टेण्डर प्रक्रियामा गएका योजनाहरुलाई अगाडी बढाईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । यो परिस्थितिमा सत प्रतिशत काम गर्छौ भन्ने अवश्था छैन तर जति सकिन्छ त्यति काम गरेका छौं ।
न्यौपानेले भने रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव अहिले आफै अनुगमन गरि कामको गुणस्तर र समयबारे सम्बन्धित पक्षलाई सचेत गराई रहेका छन् । उनले १४ वटा कालोपत्रे सडकको टेण्डर भई ६ वटामा काम पनि भई रहेको जानकारी दिए । कोरोना महामारीलाई हेर्दै सामाजिक दुरी कायम गरेर कामहरु अगाडी बढाईएको उनले बताए । रोहिणी गाउँपालिकामा पनि कोरोना संक्रमितहरु देखिएको कारण सावधानी अपनाएर कामहरु भई रहेको उनले दावी गरे । कोरोना महामारी यति छिट्टै निर्मुल हुने नदेखे पछि कोरोनाकै बिचमा रहेर यसबाट जोगिदै आफ्ना कामहरुलाई निरन्तरता दिनु पर्ने आवश्कयता रहेको गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डेले बताए । उनले योजना सम्झौता भई सकेका कामहरु उपभोक्ता समितिहरुलाई उच्च मनोबलका साथ तिव्र गतिमा अगाडी बढाउन आग्रह गरेका छन् ।












