बुटवल उपमहानगरको व्यसायिक भवनमा रातारात सटर निर्माण , अनियमितता भएको आशंकमा अख्तियारमा उजुरी

प्रकाशित मिति:

कार्तिक १३, बुटवल । नयाँ बसपार्कमा रहेको बुटवल उपमहानरपालिकाको
व्यवसायिक भवनमा विवाद उत्पन्न भएको छ । महानरगरको स्वामित्वमा
रहेको १७ सटर (कोठा) रहेको उक्त भवनमा रातारात अर्को सटर
थपेपछि अहिले विवादमा परेको छ । दक्षिण मोहडा भएको सटर नं.१७
को पश्चिममा पनि भित्ता फोडेर सटर राखेपछि सटर नं.१५
लगाएतले आपत्ति जनाएका छन् भने यस घटनाप्रति महानरगले कुनै
प्रतिक्रिया देखाएको छैन। सटर नं.१७ का पसले दिपक वर्णवालले
दक्षिण मोहडा भएको सटर कोठा भाडामा लिई व्यापार गर्दै आएका
थिए । उनले सम्झौता अनुसार करिब ४० हजार भाडा तिर्दै आएका छन्
भने उता दोहोरो मोहडा (उत्तर र पश्चिम) भएको सटर नं.१५ का
पसले राजेश सुनारले करिब ५० हजार मासिक भाडा तिर्दै आएका छन् ।
सटर नं.१७ का वर्णवालले भित्ता फोडेर पश्चिमतर्फ सटर राख्ने
प्रक्रिया गरेपछि सटर नं.१५ लगाएतले उपमहानरमा जानकारी
दिँदै उजुरी गरेका थिए । उजुरी पश्चात बुटवल उपमहानगर प्रमुख
शिवराज सुवेदीले कर्मचारीलाई बुझ्न पठाएको बताए । उनले भने
‘यस सम्बन्धी मलाई कुनै जानकारी छैन । म बुझेर समस्या
समाधान गर्दछु ।’ तर, उपमहानगरलाई जानकारी गराउँदा गराउँदै
पनि सटर राख्ने प्रक्रिया नरोकिएपछि अन्य व्यवसायीलृ महानगरप्रति
आक्रोश व्यक्त गरेका छन् । उजुरी पशचात महानगरको निर्देशनमा
प्रक्रिया रोकिएको थियो । महानगरले प्रक्रिया रोक्दापनि
सोमाबार रातीको समयमा सटर नं.१७ का दिपक वर्णवालले पश्चिमको
भित्तामा सटर लगाएका छन् । उनले सटर लगाएको जानकारी प्राप्त
भएपछि पनि महानगरले हेर्नु सिवाय कुनै कारवाही अघि बढाएको छैन
। सटर समझौता अनुसार सटरवालाले विना अनुमती तथा महानगरको
निर्णय बिना तोडफोड तथा मर्मत गर्न मिल्दैन । तर, आफ्नो
व्यवसायिक लाभको लागि सम्झौता र नियम विपरित उपमहानरपालिकाको
सम्पत्ति तोडाफोड गरेर रातारात सटर राख्दा पनि महानगर मौन छ ।
महानगरको मौनताले केही कर्मचारीको मिलेमतो रहेको अन्य
व्यवसायीको शंका छ । महानगरले समस्याप्रति गम्भिर भएर शिघ्र
समाधानतर्फ नलागेपछि उक्त घटना लगाएतका विषयमा अख्तियार
दुरुपयोग अनुसन्धान कार्यालय,बुटवलमा उजुरी परेको छ ।
महानरगको उक्त भवनमा वि.सं.२०७४ सालमा टेण्डर आह्वान गरि
विभिन्न सर्तअनुसार व्यवसायिक प्रयोजनको लागि भाडामा दिइएको हो
। व्यवसायीका अनुसार बसपार्क भित्र तथा फुटपाथमा अन्य व्यवसायी
राख्न नमिल्ने , हाल सामाजिक विकास मनत्रालय रहेको भवनमा काउन्टर
रहने लगाएतका सम्झौता अनुसार सटरहरुको भाडा महङ्गो
बोलकबोल गरिएको थियो । तर,पछि महानरगले ३० भन्दा बढी
फुटपाथ व्यापारीहरुसँग दैनिक भाडा लिएर व्यापार गर्न दिएको
हुनाले आफूहरु पीडित रहेको बताएका छन् । उनीहरुले सो
विषयमा महानगरमा पटक–पटक गुनासो गर्दापनि आर्थिक प्रलोभनमा
महानगरले फुटपाथ व्यापार लाई प्रोत्साहन गरेको उनीहरुले
बताएका छन् । काउन्टर रहने भनिएको स्थानमा सामाजिक मन्त्रालय
रहेको र भित्र फुटपाथमा व्यापार गर्न दिएको हुँदा आफ्नो
व्यवसाय नै धरापमा परेको व्यसायीहरुको भनाई रहेको छ ।
न्यूनतम रु.१० हजारदेखि करिब ८० हजारसम्म भाडा रहेको सो स्थानमा
भाडाको तुलनामा व्यापार निकै कम भएको व्यापारी राजेश सुनारले
बताए । त्यसैगरी महानगरले भवनको पेटीमा पनि व्यसाय गर्न दिई
उनीहरुबाट दैनिक तीन सय भाडा लिने गरेको हुनाले भित्र रहेका
व्यवसायी मर्कामा परेको व्यवसायी दधि पौडेलले बताए । समृद्धिको
कुरालाई मुख्य एजेण्डा बनाउँदै आएको महानगरले
व्यापारी,व्यवसायी र उद्योगीहरुलाई निरुत्साहित गरेको नेपाल
घरबहाल महासंघ ,रुपन्देहीका अध्यक्ष शंकर कोइरालाले बताए ।
उनले भने ‘समृद्धिको नारा लगाउँदै पटक–पटक उत्कृष्ट समेत
बनेको महागरले व्यसायीलाई निचोर्ने गरेको छ । लगानीमैत्री
वातावरण बनाउँदै सस्तो भाडादर,सेवा,सुविधा उपलब्ध गराउनुको साटो
उल्टै आर्थिक प्रलोभन गरी फुटपाथ र पेटीमा व्यवसाय गर्न
दिँदा महङ्गो भाडा तिरेका व्यवसायी घाटामा परेको र भाडा तिर्न पनि
समस्या रहेको बताएका छन् ।’ महानगरले अग्रिम धरौटी लिने,
वार्षिक १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने , फुटपाथका
व्यवसायीलाई वृद्धि गरी भाडा उठाउने जस्ता गतिविधिलाई बढि
प्राथमिकता दिएको तर महङ्गो भाडा तिरेर बसेका व्यवसायीका गुनासा
नसुन्ने गरेकोप्रति व्यवसायीको गुनासो छ । महानरगरको गतिविधि
कारण उक्त स्थानबाट उठ्ने भाडा लगाएत फुटपाथको पूरै रकम
महानगरको कोषमा जान्छ वा केही कर्मचारीले भ्रष्टाचार गर्छन्
भन्ने विषयमा शंका उब्जििएपछि अख्तियारमा छानविनका लागि उजुरी
परेको हो ।