स्याङ्जा, जेठ २८ । स्याङ्जाको चापाकोट नगरपालिका ४ पुम्दी मल्याङकोट घर्लीचौर सडक खण्डमा बुधबार साँझ भएको ट्रिपर दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनापछि चालक फरार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार साँझ करिब ६ बजे सडक निर्माणका लागि बालुवा बोकेर मल्याङकोटबाट घर्लीचौरतर्फ जाँदै गरेको ग १ क ४४४६ नम्बरको ट्रिपर उकालो सडकमा नियन्त्रण गुमाएर करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा ट्रिपरमा सवार म्याग्दी मालिका गाउँपालिका ५ निवासी २३ वर्षीय तिलक परियार गम्भीर घाइते भएका थिए । तत्काल उद्धार गरी उपचारका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पुर्याइए पनि चिकित्सकले साँझ ७ः०५ बजे उनलाई मृत घोषणा गरेका थिए ।
त्यस्तै दुर्घटनामा परेका १८ वर्षीय करण परियारको हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको र स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना लगत्तै ट्रिपर चालक दाङको शान्तिनगर गाउँपालिका १ निवासी २६ वर्षीय रेशमबहादुर गिरी घटनास्थलबाट फरार भएका छन् । उनको खोजी तथा पक्राउका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा परेको ट्रिपर मल्याङकोट घर्लीचौर सडक निर्माण आयोजनाका लागि बालुवा ढुवानी गरिरहेको बताइएको छ । उक्त सडक निर्माणको जिम्मेवारी पष्म एनएम आरसी जेभी कम्पनीले लिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ । स्थानीयवासीका अनुसार सडक साँघुरो र उकालो भएका कारण उक्त क्षेत्रमा सवारी दुर्घटनाको जोखिम उच्च रहने गरेको थियो । प्रहरीले घटनाको विस्तृत विवरण संकलन गर्दै फरार चालकको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।











