श्रावण १४, स्याङ्जा । घट्दो जनसंख्या वृद्धिदरलाई सम्बोधन गर्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । चालु आर्थिक वर्षमा मापदण्ड पूरा गरेका १७ परिवारले उक्त अनुदान प्राप्त गरेका छन् ।
गाउँपालिकाले लागू गरेको ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि, २०८२’ अनुसार योग्य परिवारलाई दुई वर्ष सम्म प्रत्येक महिना रु। ४ हजार उपलब्ध गराइने व्यवस्था छ । सोही कार्यविधि अनुसार यस वर्ष १७ परिवार अनुदानका लागि छनोट भएका हुन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकबहादुर थापाका अनुसार आवश्यक मापदण्ड पूरा गरेका परिवारलाई मासिक आर्थिक सहायता वितरण सुरु गरिएको छ । उहाँले कार्यविधिमा उल्लेख गरिएका सबै कागजात तथा सर्त पूरा गर्ने परिवारले लगातार दुई वर्षसम्म उक्त सुविधा पाउने जानकारी दिनुभयो ।
गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सावित्रा कोइरालाले पछिल्लो समय घट्दो जन्मदरलाई मध्यनजर गर्दै सन्तान प्रति सकारात्मक सोच विकास गर्ने, दीर्घकालीन रूपमा जनसङ्ख्या सन्तुलन कायम राख्ने तथा पोषणमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी बनाउन यो नीति ल्याइएको बताउनुभयो ।
कार्यविधि अनुसार कालीगण्डकी गाउँपालिका भित्र स्थायी बसोबास गर्ने र २०८२ साल साउनपछि तेस्रो सन्तान जन्माएका परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो । निवेदनसँगै आमाबुवाको नेपाली नागरिकताको प्रतिलिपि, तीनै सन्तानको जन्मदर्ता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र तथा बसाइँसराइ गरी आएकाको हकमा बसाइँसराइ प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने प्रावधान रहेको छ ।
त्यसैगरी जन्मिएको तेस्रो सन्तान नेपाल सरकारबाट सूचीकृत स्वास्थ्य संस्थामै जन्मिएको हुनुपर्ने व्यवस्था पनि कार्यविधिमा समावेश गरिएको छ । आवश्यक सबै मापदण्ड पूरा गरेका १७ परिवार हाल आर्थिक सहायता कार्यक्रमबाट लाभान्वित भएका छन् ।









