गोठ भत्किँदा गल्याङ ६ का ६५ वर्षीय धनबहादुरको मृत्यु ।

प्रकाशित मिति:

असार ३२, स्याङ्जा ।  स्याङ्जाको गल्याङ नगरपालिका ६, पिढिखोला बनपालेमा गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान करिब ५:१५ बजे आफ्ना पशुचौपायालाई दानापानी खुवाउन गोठमा गएका ६५ वर्षीय धनबहादुर रेस्मी मगर गोठ भत्किँदा च्यापिनुभएको थियो ।

स्थानीयवासीले तत्काल उद्धार गरी बाहिर निकाले पनि उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा एक भैँसी र एक बंगुर पनि पुरिएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार केही दिनयताको निरन्तर वर्षाले गोठको संरचना कमजोर बनेपछि उक्त दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । केही दिन अघि सोही क्षेत्रमा आएको बाढीले दुई घर र एक विद्यालयमा समेत क्षति पुर्‍याएको थियो ।

वडा अध्यक्ष दीप छिरिङ गुरुङले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पछिल्ला प्राकृतिक विपत्तिले गल्याङ ६ क्षेत्रलाई निरन्तर प्रभावित बनाइरहेको बताउनुभयो ।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ ।