कल्भर्टले धान्न छाड्यो, पुलको प्रतीक्षामा पुतलीबजारका दुई खोला ।

प्रकाशित मिति:

स्याङ्जा, २४ साउन ।  वर्षा सुरु भएपछि पुतलीबजार नगरपालिका १ र ३ जोड्ने सडकमा यात्रा गर्ने नागरिकको चिन्ता बढ्ने गरेको छ । अरौंदी खोला र बाडखोलामा रहेको पुरानो कल्भर्ट पानीको बहाव बढेसँगै जोखिमपूर्ण बन्ने भएकाले स्थानीयले वर्षौंदेखि स्थायी पुलको माग गर्दै आएका छन् ।

२०६५ सालमा तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर दुवै खोलामा कल्भर्ट निर्माण गरिएको थियो तर त्यसपछि स्थायी पुल निर्माण हुन नसक्दा अहिले पनि त्यही संरचनामार्फत सवारीसाधन र पैदल यात्रुको आवतजावत हुँदै आएको छ । सामान्य समयमा समस्या नदेखिए पनि ठूलो वर्षा हुँदा खोलाको पानी कल्भर्ट माथिबाटै बग्ने गर्छ ।

यो बाटो पुतलीबजारको सदरमुकाम, प्रदेश अस्पताल र सरकारी कार्यालयसम्म पुग्ने महत्वपूर्ण मार्ग हो । दैनिक सयौँ नागरिकले प्रयोग गर्ने सडकमा वर्षायाममा भने आवतजावत नै जोखिमपूर्ण हुने गरेको स्थानीय बताउँछन् ।

खोलाको जोखिम केवल आवतजावतमा सीमित छैन । गत वर्ष अरौंदी खोलामा बाढी आउँदा स्कुटर बगाएर चालकको मृत्यु भएको थियो भने बाडखोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका थिए । त्यसयता पनि स्थायी पुल निर्माण नहुँदा आगामी वर्षमा पनि यस्ता घटना दोहोरिन सक्ने भन्दै स्थानीय चिन्तित छन् ।

स्थानीयका अनुसार हरेक वर्ष वर्षा सुरु भएपछि पुल निर्माणको विषय उठ्ने गरे पनि वर्षा सकिएपछि समस्या ओझेलमा पर्ने गरेको छ । उनीहरू तत्कालीन रूपमा कल्भर्टको सुरक्षा व्यवस्थापन र दीर्घकालीन रूपमा स्थायी पुल निर्माण गर्न माग गर्छन् ।

पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले दुवै स्थानमा पुल आवश्यक रहेको बताए । नगरपालिकाले निर्माणका लागि प्रक्रिया अघि बढाएको भए पनि पर्याप्त बजेट उपलब्ध हुन नसक्दा काम सुरु गर्न नसकिएको उनको भनाइ छ ।

उनले वर्षायाममा पानीको बहाव बढ्दा कल्भर्टबाट यात्रा गर्न समेत कठिन हुने भएकाले समस्या समाधानका लागि स्थायी संरचना आवश्यक रहेको बताए ।  वर्षौंदेखि एउटै समस्या दोहोरिरहेकाले अब आश्वासन भन्दा पुल निर्माणको ठोस काम अघि बढ्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाई छ ।