बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ आयो
बुटवल, चैत १७ : रुपन्देहीको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा निधन भएका बाबुराम थापा क्षेत्रीमामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। सैनामैना– ४ सिसौडाडाका ३४ वर्षीेय थापाको आइतबार कोरोना विशेष अस्पतालको उपचारका क्रममा मृत्यु भएको थियो। थापाको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा क्षेत्रीमा कोरोनाको संक्रमण नदेखिएको हो। गत चैत ६ गते युएईबाट फर्किएका थापा ज्वरो आएपछि चैत १३ गते बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा भर्ना भएका थापाको आइतबार दिउँसो एक बजे मृत्यु भएको थियो । थापाको शव कोरोना विशेष अस्थायी अस्पतालमै रहेको र सोमबारै परिवारको जिम्मा लगाइने अस्पतालले जनाएको छ।











