नेपाली कांग्रेसका नेता चिनकाजीले भने प्रधानमन्त्री आफै संघीयता समाप्त गर्न लागे

प्रकाशित मिति:

काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओली आफैं संघीयतालाई समाप्त पार्ने षडयन्त्रमा लागिरहेको गम्भीर आरोप लगाउनु भएको छ ।
नेता श्रेष्ठले प्रदेश र स्थानीय तहको आर्थिक तथा प्राकृतिक स्रोत बाँडफाँडलगायतका काम गर्न गठन गर्नुपर्ने प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन गर्न किन ढिलाई गरेको भन्दै सरकारलाई प्रश्न पनि गर्नुभयो ।आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले विकास निर्माणको कामलाई अघि नबढाएको, कर थोपर्ने काम गरेको भन्दै सरकारको समग्र काम कार्बाहीप्रति आक्रोश व्यक्त गर्नुभयो ।नेता श्रेष्ठले शक्ति आफ्नो हातमा लिएर सरकारले विपक्ष दललाई तर्साउने गतिविधि गरिरहेको आरोप पनि लगाउनुभयो ।कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ने क पा का नेता टोपबहादुर रायमाझीले भने सरकारको कामको समीक्षा गर्ने बेला नभएको जवाफ दिनु भएको थियो ।उहाँले ५ वर्षे अवधिको सरकारलाई ८ महिना पूरा नहुँदै विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क पनि गर्नुभयो । नेता रायमाझीले सरकारलाई विकास, निर्माणको काममा रचनात्मक सहयोग गर्न पनि कांग्रेससँग आग्रह गर्नु भयो । नेता रायमाझीले सरकारको आलोचनामा मात्रै समय नबिताउन पनि प्रमुख प्रतिपक्ष कांग्रेससँग आग्रह गर्नुभयो ।