लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धद्धारा घर भत्किएका बाढीप्रभावितहरुलाई निर्माण सामाग्री प्रदान

प्रकाशित मिति:

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले घर भत्किएका बाढीप्रभावितहरुलाई निर्माण सामाग्री प्रदान गरेको छ । क्लबले रुपन्देहीको सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिकाका २८ घरपरिवारलाई घर बनाउनको लागि जस्तापाता र जीआई पाइप उपलब्ध गराएको हो ।सम्मरीमाई गाउँपालिका–५ रोइनिहवामा आयोजित निर्माण सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले लायन्स क्लबले समाजमा जागरुकता र सेवा भावना बढाउँदै गएको बताए । उनले मर्चवार क्षेत्रप्रति लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले देखाएको सेवाको भावको प्रशंसा गरे । उनले विगतमा आफु पनि लायन्स क्लबको सदस्य भएको स्मरण समेत गरे ।लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०÷२१ का अध्यक्ष एमजेएफ अरुण कुमार मिश्राले मर्चवार क्षेत्रमा अविरल वर्षाका कारणले आएको बाढीले घर भत्किएपछि घर निर्माण गर्न केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले निर्माण सामाग्री उपलब्ध गराएको बताए । उनले आगामी दिनमा पनि मर्चवार क्षेत्रका विपन्न परिवारलाई क्लबमार्फत सहयोग गरिने बताए ।लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्टे«टेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाकै प्रेरणाले लायन्स भएको बताए ।

उनले दिनदुःखीको सेवामा लायन्स निरन्तर लागेको बताए ।लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका एभ्यालुयसन टिम हेड विनोद खरेलले भैरहवाबासी मर्चवारको दुःखसुखमा साथ रहेको बताए । उनले लायन्स क्लब पटकपटक मर्चवार क्षेत्रमा पुगेर सेवाको हात अगाडी बढेको बताए ।लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का चिफ सन्दिप कसौधनले लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले गरेको कार्यको उचित मुल्यांकन हुने बताए । उनले मर्चवार क्षेत्रको विकासको लागि लायन्स क्लबले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

सामुदायिक विपद् व्यवस्थापन सञ्जालका राष्ट्रिय अध्यक्ष जगन्नाथ कुर्मीले विपन्न समुदायलाई सहयोग गरेको भन्दै लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धलाई धन्यवाद दिए । लायन्स क्लब अफ भैरहवा लुम्बिनीका संस्थापक अध्यक्ष रवि कुमार रौनियारले ‘हामी सेवा गर्छौं’ भन्ने नाराका साथ लायन्स क्लब निरन्तर समाजसेवामा लागेको बताए ।कार्यक्रम संयोजक एवं क्लबका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायको स्वागत, क्लबका सदस्य अमृता जैसवालको ध्वजा अभिवादन तथा सचिव राजन शुक्लाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस अघि क्लबले लुम्बिनी सांस्कृतिक नगरपालिका–२ स्थित भर्थापुरका बाढीप्रभावितहरुलाई खाद्यान्न सामाग्री वितरण गरिसकेको क्लबका सह–कोषाध्यक्ष पिन्टु वनियाले बताए ।